झापा । तीन दिनअघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।
दमक १ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट
मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका ३ का ३८ बर्षिय गोविन्द लिम्बूको
हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ बर्षिय सनम राईसहित ११ जनालाई
जिल्ला प्रहरी कार्यालय आज झापाले सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरि मुख्य
आरोपी राईसहित दमक १ का २२ बर्षिय आनन्द भुजेल, दमक ७ कै १८ बर्षिय सवास
आलम, दमक १ कुमाल चौंकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक १ का
२५ बर्षिय नामुद थेवे, २२ बर्षिय राजकुमार भुजेल, २६ बर्षिय आकाश केरुङ, दमक ७
का २३ बर्षिय राहुल श्रेष्ठ,२८ बर्षिय सलमान लिम्बू, इलाम चुलाचुली ४ का
३१ बर्षिय सन्दिप राई, सोहि पालिका ३ का ३८ बर्षिय सूर्य केरुङ, ३८ बर्षिय
उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता
प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनाकै दिन होटल
सञ्चालक कुमालसहित ८ जना र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको
उर्लावारी १ टप्पु टोलबाट नियन्त्रणमा लिईएको जानकारी दिए ।
उनका अनुसार तीन दिनअघि दमक १ स्थित कुमाल चौंकको रुवेल माछा फ्राईमा
मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा
हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै उनी फरार भएका थिए ।
उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी
रिजालले बताए ।
फरार आरोपीलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्र खड्का, इप्रका दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा, झापा प्रहरीले संयुक्त टोली परिचालन भएको थियो । मुख्य आरोपी राईले हत्यामा संलग्न छुरा विराटनगर महानगरपालिका ९ स्थित सन्सारी मन्दिर छेउ झाडीमा फ्यालेका थिए । सो छुरा फेला पारी बरामद गरिएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।