झापा । शिवसताक्षी नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारीबाट वडाध्यक्ष विष्णु प्रसाईँलाई हटाइएको छ । उनलाई नगर प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए। तर, वडाध्यक्ष प्रसाईँलाई भोलि शनिवार अर्थात् ४ दिनमै कार्यवाहकको जिम्मेवारीबाट हटाइएको हो । भोलि शनिवार परेकाले उनले तीन दिन मात्र कार्यवाहक भएर नगरपालिका चलाउन पाएका छन् ।
जापानमा रहेका नगरप्रमुख थोप्राले प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई वडाध्यक्ष प्रसाईँलाई शनिवारसम्म मात्र कार्यवाहकको जिम्मेवारी दिनु भन्ने पत्र पठाएको उपप्रमुख नरमाया कार्कीले बताइन् । वडाध्यक्षको कार्यवाहक सकिएपछि पदको हिसाबले उपप्रमुख कार्कीले स्वतः कार्यवाहक भएर चलाउन पाउने नियम रहेको बताइएको छ ।
जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालन ऐनविपरित कार्यवाहक दिएकोमा आलोचना समेत भएको थियो ।