झापा । चिनियाँ विद्युतीय कार कम्पनी बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एकैदिन ३१ विद्युतीय कार काठमाडौं ल्याएको छ । रसुवागढी नाकाबाट आयात भएका ती कारहरु मंगलबार एकैदिन काठमाडौं ल्याइएको हो ।
नेपालमा पछिल्लाे केही महिनामामा अन्य ब्रान्डको तुलनामा विशेषगरी बीवाइडीका इभी गाडीहरुकाे माग बढेको छ।
नेपालमा बीवाडीका बिजुली गाडीको माग बढ्दै गएपछि चीनको बीवाईडी कम्पनी लिमिटेडका एसिया प्यासिफिक क्षेत्रीय महाप्रबन्धक लिउ झिउलिङ उच्चस्तरीय अधिकारीसहित आइतबार मात्रै नेपाल आएका थिए । नेपाल आउने टोलीमा झिउलिङसहित लिन बिन, के जुहुआ र वाङ जियानवेई रहेका थिए ।
पछिल्लो आयात तथ्यांक हेर्दा विद्युतीय गाडीको माग पेट्रोल/डिजेल गाडीको तुलनामा अत्यधिक रहेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै ७ हजार ९९ वटा विद्युतीय कार नेपाल भित्रिँदा पेट्रोल/डिजेल गाडी भने २ हजार ५५८ मा सीमित भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।