झापा / सिन्धुलीकाे कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन सिन्धुली जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा स्थानीयले बिहीबार तोडफोड गरेपछि सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिएकाे थियो । तर, स्थिति नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु आदेश जारी गर्नु परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार बेलुकी साढे आठ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिकाको ४ र ६ नम्बर वडामा पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।