झापा । नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको गएराति सम्पन्न फाइनलमा
तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित
रह्यो । साउदी अरेबियाको जेद्दामा भएको खेलको निर्धारित समय २–२ को
बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो ।
त्यसमा जोर्डनका लागि रोजबहानले निर्णायक गोल गरिन् ।
यससँगै जोर्डन कीर्तिमान छैटौंपल्ट उपाधि जित्न सफल रह्यो । टाइब्रेकरमा
जोर्डनका सबै पाँच खेलाडीले गोल गरेका थिए । नेपालबाट भने अमृता जैसी गोल
गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी
थिइन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नूर जोकासले गोल
गरे । नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरेका
थिए । जोर्डन फिफा वरीयतामा नेपालभन्दा माथिको टिम हो ।
जोर्डनको वरीयता ७४ रहेको छ भने नेपाल १०५ औं स्थानमा छ ।
नेपाल भने लगातार ११ औं अन्तर्राष्ट्रिय फाइनलमा चुकेको छ । नेपाली महिला राष्ट्रिय टिम अहिलेसम्म खेलेका सबै फाइनलमा पराजित रह्यो ।