झापा । एमाले, माओवादी र रास्वपाका नेताले बुधबार आफ्नो दलको भागमा परेका मन्त्रालयहरूको टुंगो लगाएका छन् ।
एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको छ ।
महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व
गर्ने तयारी छ ।
उनी यसअघि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनले परराष्ट्र र
भौतिक योजना मन्त्रालयको नेतृत्व गरिसकेका छन् । गृह र अर्थ मन्त्रालय
एमालेको भागमा परेको भए विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने सम्भावना
थियो । तर यी दुवै मन्त्रालय नपाएपछि एमाले भौतिक पूर्वाधार लिएर रघुवीरलाई
पठाउने निर्णय गरेको हो ।
महासेठले आफूलाई पठाउन लागेको जानकारी
प्राप्त भएको र तयारी गरिरहेको बताए । उनले एमालेबाट आफूबाहेक थप १–२ जनाले
शपथ लिने तयार भइरहेको तर नाम भने आउन बाँकी रहेको बताए
त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने
भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो
।पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए ।
२०६४ सालबाट संसदीय यात्रा सुरु
गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए
। त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा
ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए । पुन माओवादी अध्यक्षसमेत
रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
परराष्ट्रमन्त्रीमा दोहोरिने भएका छन् । पाँचौँ पटक मन्त्री बन्न लागेका
श्रेष्ठले दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा पाउन लागेका हुन् । यसअघि
उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।
बुधबार
माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने
निर्णय गरेको हो । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म उनी
उपप्रधान एवं गृहमन्त्री थिए ।
दाहाल नेतृत्वकै सरकारमा उनले तेस्रो
मन्त्रालयको जिम्मा पाउने भएका हुन् । दाहाल नेतृत्वको सरकार गठन हुँदा
श्रेष्ठ यसअघि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।
चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने
नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि श्रेष्ठले
गृहको जिम्मा पाएका थिए । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् ।
त्यस्तै माओवादी केन्द्रबाट रेखा शर्मा मन्त्रीमा दोहोरिने भएकी छन् ।
उनलाई शपथको तयारी गर्न भनिएको छ । उनी यसअघि सञ्चार मन्त्री थिइन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि
लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको
नाम टुंगो लगाएको हो ।
नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सभापति
लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै उपसभापतिसमेत
रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका
छन् ।
त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त
श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले
बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री
दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा
गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा
पाउने भएका हुन् ।विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठ भने पहिलो पटक
मन्त्री बन्न लागेका हुन् ।