झापा । झापामा लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार साेमबार राति ९.५५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधे चौकमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेबाट माइधारतर्फ आउँदैं गरेको प्र १–०१–०१५ प ३२२ नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लागूऔषध फेला परेको थियो । ट्रामाडोल १७४ क्याप्सुलमध्ये ८ वटा क्याप्सुल प्रयोग गरि १६६ क्याप्सुल बाँकी रहेको,कोलिबान १६० क्याप्सुलमध्ये ६ वटा प्रयोग गरी १५४ वटा क्याप्सुल बाँकी रहेको फेला पारी स्कुटीसहित स्कुटीमा सवार तीनैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा स्कुटी चालक शिवसताक्षी वडा नं. १० माइधार बस्ने २२ वर्षीय दिपेश तामाङ , सोही वडाको झरना चौक बस्ने २५ वर्षीय सिमान्त सुब्बा र वडा नं ३ धरमपुर बस्ने १९ वर्षीय श्याम दर्जी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
त्यस्तै साेमबार दिउँसो १ बजे दमक नगरपालिका वडा नं.५ बस्ने २० वर्षीय अर्जुन कार्कीलाई इलाका प्रहरी कार्यालय दमकले लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरी टोलीले शंका लागेर तलासी लिँदा झोलाभित्र लुकाई छिपाई राखेको प्रतिवन्धित औषधि ट्रामाडोल २०० क्याप्सुल र डिसाइक्लोमिन २०० क्याप्सुल फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
त्यस्तै साेमबार नै साँझ ६.३० बजे भद्रपुर नगरपालिका वडा न.५ मेची पुलमा अस्थायी प्रहरी बिट मेची पुल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १०प ३२८७ नं. को मोटरसाइकलमा सवार भद्रपुर ८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाई छिपाइ ल्याउँदै १३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं.३ बस्ने २८ वर्षीय सन्दिप थापाका लागि ल्याएको बताएपछि उनलाई समेत खोजतलास गर्ने क्रममा भद्रपुर ८ स्थित हस्पिटल मोडबाट पक्राउ गरिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए ।