झापा । इलाम नगरपालिका वडा नं ९ गोलाखर्कका ३३ वर्षीय गंगाराज मोक्तान गत कात्तिक २९ गते रुस–युक्रेन युद्धमा मारिए ।करिव अढाई साता बित्दासमेत उनको शवको टुंगो छैन ।
मोक्तान परिवार भने शव आउने प्रतीक्षामा छ । शव ल्याउन सक्ने नसक्ने टुंगो सरकारले नगरेका कारण आफूहरु अन्योलमा रहेको गंगाराजका दाजु बिशाल लामाले बताए । ‘सक्ने भए शव ल्याइदिनु प¥यो, नसक्ने भए सक्दैनौं भनीदिनु प¥यो’ उनले भने ,‘ हामी पीडित परिवारलाई अझ पीडा भएको छ । ’ सेक्युरिटी गार्डको काम गर्न २०७६ देखि दुबईमा रहेका गंगाराज असोजको दोस्रो साता रुसी सेनामा भर्ना हुन पुगेका थिए । ‘दुबईबाट साथीहरू धमाधम रुस गइरहेका छन् । माल्टा जान भनी जोगाएको ७ लाख रुपैयाँ पनि फस्यो,’ पत्नी यांकिलालाई गंगाराजले अन्तिम पटक गत कात्तिक २६ मा भनेका थिए । उक्त संवादमा गंगाराजले रुस र युक्रेनको युद्धग्रस्त क्षेत्रमा एक साता बसेर फर्किएको बताएका थिए । त्यसपछि भने उनी सम्पर्कविहीन थिए । ‘अचानक उहाँ बितेको खबर आयो’, यांकिलाले भनिन्, ‘पैसा कमाएर सुख पाउने सपना अधुरै रह्यो । हाम्रो कर्ममा यस्तै हुन लेखेको रैछ ।’ ६८ वर्षीय पिता कृष्णबहादुर छोराको शव ल्याउन वडाध्यक्षमार्फत पहल गरिरहेका छन् ।
आफूहरुले पनि विभिन्न निकायमा पहल गरिरहेको भएपनि गंगाराजको शव
आउने टुंगो नदेखिएको इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले बताए । सरकारले
टुंगो नगरिदिँदा आफूहरुले पीडित परिवारलाई केही भन्न नसकेको उनले बताए ।
मस्कोस्थित नेपाली दूतावासका अनुसार रुस–युक्रेन युद्धमा मृत्यु हुनेमा
गंगाराजसंगै स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र गोरखाका
सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर
लडाइँमा गएका थिए ।
दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको
भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न
गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र
लेखेको हो । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए ।
कार्की र रोक्काले नेपाली सेनामा काम गरिसकेका थिए ।
रुसी सेनामा भर्ती भएका तीन नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि
उनीहरूको शव स्वदेश आउने÷नआउनेमा अनिश्चित देखिएको छ । यसबारेमा परराष्ट्र
मन्त्रालय समेत अन्योलमा देखिन्छ । मन्त्रालयका अधिकारीले मृतकका शव
ल्याउनेबारे परिवारलाई प्रस्ट बताउन सकेका छैनन् । झन्डै तीन साता हुन
लाग्दासमेत शव नेपाल आउँछ कि आउँदैन भन्नेमा परराष्ट्र मन्त्रालयले प्रस्ट
रूपमा केही बताउन सकेको छैन । तर कन्सुलर विभागले भने ‘शव ल्याउन नपाइने’
भन्दै स्याङ्जा पुतलीबजार–५ वडा कार्यालयलाई जानकारी गराएपछि परिवारजनले
प्रितमको कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।
अस्तु पनि डीएनए टेस्ट
गरेर मात्र ल्याउनुपर्ने अवस्था रहेको खबर पाएपछि प्रितमका बुबा र १०
वर्षका छोरा यतिबेला किरियामा बसेका छन् । कन्सुलर विभागले वडाध्यक्षमार्फत
प्रितमको शव ल्याउन नपाइने जानकारी दिएको थियो । परराष्ट्र मन्त्रालयका एक
अधिकारी शव ल्याउन पाउने÷नपाउने भन्ने विषय द्विपक्षीय करारपत्रमा समेत
निर्भर रहने बताउँछन् । ‘यो विषय निकै संवेदनशील छ । मृतकहरूको शव ल्याउन
परराष्ट्र मन्त्रालयको प्रयत्न जारी छ,’ ती अधिकारीले भने । रुसले युद्धमा
मारिएका आफ्ना सैनिकको एकै ठाउँमा राजकीय सम्मानको साथ अत्येष्टि गर्ने
व्यवस्था गरेको छ । त्यही नीतिअनुसार गोरखाका थपलियाको शव पनि परिवारलाई
नपठाइएको ती अधिकारीले जनाए ।