नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत विपन्न नागरिक उपचार कोष अन्तरगत निःशुल्क हेमोडाइलाइसिस सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
कार्यक्रमअन्तरगत नेपाल सरकारले तोकेको मृगौलाका बिरामीलाई निःशुल्क हेमोडाइलाइसिस सेवा प्रदान गर्नुपर्दछ ।
स्थानीय तहले विपन्न नागरिकको तथ्यांङ्क राखी सिफारिस गरेको आधारमा अस्पतालले निःशुल्क सेवा दिने अस्पतालका प्रवक्ता प्रमिस गिरीले जानकारी दिए ।
बिरामी उपचारका लागि अस्पतालको ओपिडी सेवाबाट स्वास्थ्य परीक्षण गरी मृगौला रोगी भएको ठहरिएमा अस्पतालले सम्बन्धित बिरामीका लागि पालिकासँग सिफारिस माग गर्न पत्रचार गर्नेछ । सोही सिफारिस मागपत्रको आधारमा पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा बिभाग प्रमुख रहेको समितिले निर्णय गरेर प्रतिलिपीसहित अस्पताललाई सिफारिस पत्र पठाएको हुनुपर्ने नियम रहेको उनले जनाए ।
पालिकाले बिरामीलाई निःशुल्क उपचारका लागि पठाएको सिफारिस पत्रको आधारमा आवश्यक कागजात जुटाई सामाजिक सुरक्षा इकाईमा पेश गरेपछि निःशुल्क हेमोडाइलाइसिस सेवा प्रदान गर्ने जनाइएको छ ।
आधुनिक प्रबिधिसँगै प्राबिधिकको ब्यवस्थापन, बिषय बिशेषज्ञ चिकित्सकहरुको निरन्तर उपस्थिति, उपचारको क्रममा आइपर्ने सम्भाबित जोखिममा पनि जटिल उपचार सफल गर्नसक्ने भएकाले हेमोडाइलाइसिस सेवा बिएण्डसी अस्पतालमा सम्भब हुने अस्पतालमा कार्यरत चिकित्सकहरुले बताए ।
अस्पतालमा कार्यरत डा. गोपाल मिश्र, डा. मुक्ति देबकोटा, डा. राजु श्रेष्ठले अन्य रोगलाई जोगाउँदै डाइलाइसिस सेवा उपयुक्त रहेको बताएका थिए ।
प्रवक्ता गिरीका अनुसार हाल ५ वटा मेसिनबाट हेमोडाइलाइसिस सेवा प्रदान गर्ने र १ महिनापछि बिरामीको चापलाई मध्यनजर गर्दै २० वटासम्म मेसिनबाट सेवा प्रवाह गर्ने बताए । हेमोडाइलाइसिस गर्दा ठुला नसामा बनाइने फिस्टुला ,सघन उपचार कक्ष समेत एकै ठाउँमा उपलब्ध हुने साथै मृगौला रोगीले रिफर,प्रत्यारोपण र मृत्यु वाहेक जीवनभर अस्पतालले नै उपचार सेवा दिने भएकोले बिरामीलाइ सहज हुने उनले जनाए ।
एउटा हेमोडाइलाइसिस गर्दा ४ घण्टासम्म समय लाग्ने र उक्त सेवालाई २४ सै घण्टाको ब्यवस्थापन मिलाउने योजना रहेको प्रवक्ता गिरीको भनाई छ । विरामीका लागि आवश्यक ब्यवस्थापन तथा डाइलाइसिस कक्ष ब्यवस्थित गरिएको उनको भनाई थियो । निरन्तर औषधि चलाउनुपर्ने भएकोले बिरामीलाई तनावरहित वातावरणमा उपचार गर्न टेलिभिजन, पत्रपत्रिका पढ्न र मनोरञ्जनका सामग्री प्रयोग गर्ने दिइनेछ ।
भबिस्यमा मुटु र मृगौला प्रत्यरोपण सेवा समेत सञ्चालनमा ल्याइने अस्पताल ब्यवस्थापनले जानकारी गराएको छ ।