झापा । झापाको जलथल चारकोशे वनमा १५५ प्रजातिका रुखहरु रहेको पाइएकाे छ ।
फरेस्ट एक्सन नेपालको नेतृत्वमा भएको अध्ययनबाट जैविक विविधताले भरिपूर्ण जलथलमा भएका रुखहरुको प्रजातिको संख्या एकिन भएको हो ।
अध्ययनको नतिजा भारतबाट प्रकाशित हुने
‘प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अंकमा प्रकाशित भएको थियो । डा.
लिलानाथ शर्मा, डा. भाष्कर अधिकारी र योगेन्द्रबिक्रम पौडेलको सहलेखनमा
प्रकाशित रिसर्च आर्टिकल अनुसार जलथल वनका रुखहरुको प्रजाति अभिलेख गरिएका
छन् ।
जैविक विविधताको कुरा गर्दा रुखहरुको प्रजाति संख्याको बिशेष चर्चा हुने
गर्दछ तर आजसम्म जलथल जंगलमा रुखका कति प्रजाति छन् भन्ने यकिन तथ्यांक
प्रकाशित भएको थिएन । चारकोशे जंगलको फडानी हुनबाट बचेको एक खण्ड हो जलथल
वन । झापाको हल्दिबारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा
यो वन ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल यो वन यी चार वटा
पालिकाका २२ वटा सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गर्दै आएका छन् ।
डा. शर्माका अनुसार जलथल वनको रुखहरुको अभिलेख लगभग पुरा भएको छ । ‘थप
अध्ययनसंगै केही प्रजाति थप हुन सक्ने सानो सम्भावना नकार्न सकिंदैन’ उनले
थपे ।
रुखहरुको प्रजातीय विविधताको आधारमा नेपालमा पाइने एक चौथाई जस्तो रुखहरु जलथलमा भेटिएका छन् । जलथल वनले नेपालको कुल वनक्षेत्रको जम्मा ०.१ प्रतिशत भूभाग ओगटेको छ । तर यहाँ नेपालका लगभग २५ प्रतिशत रुखहरु भेटिनुले जलथल वन नेपालको सन्दर्भमा रुखहरुको राजधानी भनेर भन्दा अत्युक्ति नहुने तर्क अध्ययनको नेतृत्व गर्ने डा. शर्माको छ । यति सानो क्षेत्रफलमा यति धेरै संख्यामा रुखहरु नेपालमा अन्यत्र अभिलेख गरिएको छैन ।
प्रकाशित रिपोर्ट जलथल वनमा चासो राख्ने जो कसैलाई पनि उपयोगी हुन सक्ने
अध्ययनकर्ताहरुले बताएका छन् । यो रिपोर्ट जलथल वनको व्यवस्थापन र
संरक्षणमा उपयोगी हुने लेखकहरुको बिश्वास रहेको छ । नेपालमा कुनै वन
क्षेत्रका रुखहरुको यो तहको अध्ययन अन्यत्र भएको छैन । यो अध्ययन जलथल वनको
जैविक विविधता संरक्षणमा एउटा कोशेढुंगा नै हो भन्ने लेखकहरुको तर्क छ ।
प्रकाशित अनुसन्धानात्मक लेखमा रुखका प्रजातिहरुको स्थानीय, क्षेत्रीय र
संसारभरिकै तथ्यांकको विश्लेषणको आधारमा जलथल वनको वनस्पतिक भूगोलको
सान्दर्भिकता केलाउने प्रयास गरिएको छ । उक्त लेख अनुसार वनस्पति भूगोलको
आधारमा जलथल वन नेपालकै एक बिशिष्ट र महत्वपूर्ण छ भन्ने देखिन्छ ।
लेखमा रुखहरुको संरक्षण अवस्था पनि विश्लेषण गरिएको छ । जलथलका सयभन्दा बढी प्रजातिका रुखहरु दुर्लभ मान्न सकिन्छ । यद्यपि तिनको दुर्लभता फरक फरक हुन सक्छ । जलथलका एक दर्जन जति रुखहरु स्थानीय स्तरमा लोप हुने अवस्थामा पुगेको समेत चर्चा लेखमा गरिएको छ । काँडे थाकल र सादन जलथलबाट पछिल्लो समयमा लोप हुने अवस्थामा छन् ।
२२ वटा सामुदायिक वन समूहबाट वन व्यवस्थापनमा पहल भएता पनि समग्र जैविक विविधता संरक्षणमा वन समूहहरुले अझ गम्भीर भएर लाग्नु पर्ने कुरा पनि लेखमा औल्याइएको छ । समयमै गम्भीरतापूर्वक काम नगर्ने हो भने हामीले हेर्दाहेर्दै यहाँका महत्वपूर्ण सम्पदा लोप भएर जाने भन्दै लेखकहरुले चिन्तासमेत ब्यक्त गरेका छन् ।