झापा । । भद्रपुर नगरस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि मेची रंगशालामा सुरु भएको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् ।
भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नगर प्रमुख गणेश पोखरेलले गरेका छन् । प्रतियोगितामा नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरी २२ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएको शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू भइरहेको छ ।
आज भएको पहिलो दिनको खेलमा एथलेटिक्सतर्फ १५०० मिटर छात्र दौडमा भद्रपुर माविका सञ्जय टुडु प्रथम, चन्द्रभानु ज्योति माविका सन्तोष लिम्बु द्वितीय भएका छन् ।
त्यस्तै १५०० मिटर छात्रा दौडमा हिमाली माविकी सीमा सरदार प्रथम, मोरान मेमोरियलकी गीता उराव द्वितीय र सगरमाथा माविकी बिन्दा राई तृतीय भएकी छिन् । छात्रतर्फ १०० मिटर दौडमा ज्ञानसरोवर निकेतनका प्रशान्त अधिकारी प्रथम, हिमाली माविका धनेशलाल गणेश द्वितीय र वीरेन्द्र माविका समीर राजवंशी तृतीय भएका छन् । छात्रातर्फ १०० मिटर दौडमा भद्रपुर माविकी सविता टुडु प्रथम, चन्द्रभानु ज्योति माविकी रित्तीका पाठक द्वितीय र अरनिको माविकी सम्प्रदा राई तृतीय भएकी छन् ।
त्यसैगरी सटपुट थ्रोमा छात्रतर्फ शिशु निकेतनका पुकार लिम्बु प्रथम, मोरान मेमोरियलका टेकराज राजवंशी द्वितीय र हिमाली माविका विवेक खत्री तृतीय भएका छन् ।
सटपुट थ्रोमा छात्रातर्फ चन्द्रभानु ज्योति माविकी सङ्गीता किस्कु प्रथम, भद्रपुर माविकी कविताकुमारी सहनी द्वितीय र विदुर इङ्लिस स्कुलकी परिना गुरुङ तृतीय भएकी छन् । त्यस्तै ज्याभलिन थ्रोमा छात्रतर्फ वीरेन्द्र माविका प्रकाश राजवंशी प्रथम, मोरान मेमोरियलका रतन उराव द्वितीय र सरस्वती माविका दीप सागर पुरी तृतीय भएका छन् । ज्याभलिन थ्रोमा छात्रातर्फ हिमाली माविकी प्रजिता तामाङ प्रथम, चन्द्रभानु ज्योति माविकी सङ्गीता किस्कु द्वितीय र मोरान मेमोरियलकी नेहा उराव तृतीय भएकी छन् । फुटबल, भलिबल र कबडी खेलहरू जारी रहेको जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् । भद्रपुर नगर प्रमुख पोखरेलको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।