झापा । झापासँगै धनुषा, महोत्तरी, सर्लाही,रौतहट,रसुवा र कपिलवस्तुमा हात्तीपाइले मुक्त नभएपछि सो रोग विरुद्धको औषधि खुवाइदै छ । आउँदो वैशाख १६ बाट ३० गतेसम्म आमऔषधी सेवन अभियान सञ्चालन गरिने भएको हो ।
यसैक्रममा झापामा १२ औँ पटक अभियान जारी राखेपनि मुक्त नभएपछि १३ औँ पटकलाइ अन्तिम मानेर अभियान चलाउँने भएको छ । कार्यालयले शुक्रबार जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै अभियानका बारेमा जानकारी गराएको थियो । स्वास्थ्य कार्यालयका अधिकृत विश्वनाथ श्रेष्ठका अनुसार झापामा ७ सय ५० स्वास्थ्यकर्मी र ६ सय ६ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरी औषधि खुवाइने जानकारी दिए ।
१२औँ पटक अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले यो बर्ष अन्तिम अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश वाह्रकोटीले जानकारी दिए । रोगका बारेमा कार्यपत्र प्रस्तुत् गर्दै उनले गत बर्ष ७५ प्रतिशत मानिसले औषधि खाएको उनले जनाए । अभियान सञ्चालनका लागि ९ करोड ३४ लाख रुपैयाँ बजेट आएको उनले जानकारी दिए । अभियान सफल नभएपछि गतबर्षबाट उचाईका आधारमा र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउन थालिएको उनको भनाइ छ । अभियान सञ्चालनसँगै विरामीको तथ्याङ्क समेत राखेर जिल्लामा रहेका रोगीहरुको सङ्ख्या लिइने उनले बताए । हाल जिल्लामा १ सय ४० जना अनुमानित रोगी देखिएपनि आधिकारिक तथ्याङ्क केही महिनापछि सार्वजनिक गरिने उनले बताए ।
जनप्रतिनिधिसहित सुरक्षा निकायले औषधि खादै अभियान सुरु गरे
प्रदेश साँसद, प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखलगायतले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर अभियान सुरु गरेका छन् । उच्च पदका कर्मचारीले औषधि नखाने र सर्वसाधारणलाइ मात्र खान दबाव दिने गुनासो आएपछि शुक्रबार आमऔषधि सेवनको सुरुवात गरिएको छ ।
क्षेत्र नम्बर ३ का प्रदेश साँसद छविलाल चुडाल, जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल,उपप्रमुख शान्ता रोक्का,प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला, प्रहरी प्रमुख मिलन केसी, सशस्त्रका एसपी कविन्द्र राई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र नेपाल, प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरीटेण्डेट रामबमबु खड्का ,राजनितीक दल, सञ्चारकर्मी लगायतले औषधि खाएर अभियान सुरु गरेका थिए ।
ठूला मान्छेले औषधि खाएको देखेपछि अन्यले औषधि खानु पर्नेरहेछ भन्ने चेतना जगाउनलाइ दुइदिन अघि नै सुरुवात गर्नु परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा हात सुन्निे, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनाङ्ग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधी सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
उक्त औषधी ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा तीन हप्ता सम्मका सुत्केरी बाहेक सबैले सेवन गर्न मिल्ने स्वास्थ्यकर्मीको भनाइ छ ।