झापा । झापामा रहेका विभिन्न संघ संस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको विपद् ब्यवस्थापनका लागि
संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा
प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताए । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्धार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विपद् व्यवस्थापनका लागि पूर्वतयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । उनले झापामा हुनसक्ने विपद् जोखिमको अध्ययनको काम भइरहेको र जनस्तरमा पुगेर राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन सचेतना अभियानसमेत जारी राखेको बताए ।
कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओलीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्लाका तीन दर्जनबढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।