झापा । झापाको भद्रपुरमा चिया क्षेत्रमा स्थापित नाम हो सुरेश अग्रवाल । भद्रपुर ८ निवासी अग्रवालको चियासँग खेलेको ३५ वर्ष पुगेको छ । वि.सं. २०२१ साल साउन २१ मा स्वर्गीय पिता मोहनलाल अग्रवाल र माता कमलादेवीका माइलो सन्तानका रुपमा उदाएका अग्रवाल २६ वर्षको उमेरदेखि उद्योगतर्फ होमिए । बिकम अनर्स र चार्टर्ड एकाउण्टेण्ट अध्ययन गरेका उनी हजुरबुवा र बुबाले गर्दै आइरहेको पैतृक व्यवसायलाई पूर्णता दिन उद्योगमा लागिपरेको बताउँछन् । बुबाले कसैबाट किनेको मक्षेन्द्र राईस मिल उद्योगको पहिलो सुरुवात भएको उनले बताए ।
अध्ययनका क्रममा काठमाडौँ रहँदा हजुरबुबाले छोरा मोहनलालले उद्योग सञ्चालन गर्न समस्या भयो बुबालाई सघाउनपर्यो भनेपछि २०४६ सालबाट भद्रपुर आएर कुवाडीदेवी टि –स्टेट र मित्तल टी– स्टेट उद्योगमा लागिपरेको उनी बताउँछन् । बुबा राजनीतिसँगै तत्काल चारआली– केचना सडक निर्माणको नेतृत्व गर्ने भएकोले पनि आफूले उद्योग सम्हाल्नुपरेको उनी बताउँछन् ।
बुबाले सञ्चालनमा ल्याएको राइस मिल २०५० मा बन्द गरिएको उनले सुनाए । हाल झापा गाउँपालिका – ५ मा ३सय ४५ बिघा र कचनकवल –३ मा ४ सय ९५ बिघा क्षेत्रफलमा चिया खेती र उद्योग सञ्चालनमा ल्याएको उनले बताए । सो समयमा जग्गासहित अनुमानित ६ करोडको लगानी भएको उनको भनाइ छ । त्यतिबेला प्रतिबिघा जमिन ४५ हजार रुपैयाँमा खरिद गरिएको उनी सम्झन्छन् ।
दुईवटा चिया उद्योगसँगै २०५० सालमा अनुमानित ६ करोडको लगानीमा दुवागढीमा झापामा नै पहिलो मित्तल सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको उनले बताए । सिमेन्ट उद्योग २० बर्षसम्म सञ्चालनपछि बन्द गर्न बाध्य भएको उनले बताए । तीन भाइले सङ्गोलमा चारवटा उद्योग सञ्चालनपछि २०६० बाट एकलौटीरुपमा आफूले उद्योग सम्हाल्दै आइरहेको उनले बताए ।
हाल सञ्चालनमा रहेका दुईवटा चिया उद्योगको २५ करोड पुगेको उनले बताए । वार्षिक अनुमानित २० करोड आम्दानी र अनुमानित १८ करोड रुपैयाँ खर्च हुने गरेको उनले सुनाए । उद्योगमा २९ जना कर्मचारी र दैनिक ज्यालादारीमा ४सय २० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको उनले बताए । साउनदेखि कात्तिकसम्म चियाको मुख्य सिजन रहेको उनको भनाइ छ । वार्षिक ८ लाख किलो उत्पादन हुने तयारी चियाको बजार नभएको उनले सुनाए । करिव २ लाख किलो चिया भारत गएपनि बाँकी नेपालमा नै खपत हँुदै आएको उनले बताए । चियालाइ प्राकृतिक पानी आवश्यक पर्नेमा हाल पानी नपरेपछि सिँचाइमार्फत् लगाउनु पर्दा विद्युत्ले सहुलियत नदिएको उनको गुनासो छ । वार्षिक ५ लाख रुपैयाँ सरकारलाइ कर तिरे पनि सरकारले उद्योगमा लगानी गर्ने वातावरण नबनाएको उनको भनाइ छ । सरकारले उद्योगीलाईभन्दा मजदुरलाई काखी च्यापेर भोट वैङ्कको व्यापार गरेको उनको आरोप छ ।
स्थानीय तह राजनीति मात्र गर्ने तर उद्योगीले समस्या लिएर पटक– पटक जाँदा वास्ता नगर्नु विडम्बना भएको उनी बताउँछन् । वैकल्पिक खेती गर्ने सरकारको नीति नहुँदा उद्योग पलायन हुने निश्चित भएको उनको धारणा छ । भारतमा जग्गाधनीको कुल जग्गामा १५ प्रतिशत जग्गामा कामदार र जग्गा नघटाइ वैकल्पिक व्यवसाय गर्ने नियम छ भने नेपालमा जे भनेको छ त्यही गर्नुपर्ने वाध्यताका कारण उद्योगीसहित देशलाई हानी हँुदै गएको उनले बताए । चिया उद्योगले अन्य व्यवसाय सो जमिनमा लगाउन नपाइने भएको उनको भनाइ छ । तेजपत्ताको अध्यधिक मागभएपछि चिया बगानमा तेजपत्ताका रुख लगाए पनि माग धान्न नसकिएको अवस्थामा माग धान्ने गरी लगाउन नपाउँदा उर्जा मरेर आएको उनले गुनासो गरे ।
चिया वगानसँग सिमाना जोडिएको जग्गाधनीले मन लागेको खेती गर्न पाउने तर करको दायरामा चाहिँ एउटै नियम हुने सरकारको नीति अव्यावहारिक रहेको उनको भनाइ छ । सरकारको उद्योगीप्रतिको हेराइ नै सामन्ती सरह रहेकोले भद्रपुरमा सवै उद्योगहरु क्रमशः बन्द हुदै गएको उनले बताए ।
पानी नपरेपछि सिँचाइ गर्दा विद्युत्ले महशुल दर अन्यसरह राखेकोले उद्योगीमाथि चारैतर्फबाट प्रहार भएको उनको आरोप छ । एक वर्ष राम्रो आम्दानी भए पनि धेरैवर्षसम्म उद्योगमा घाटा व्यहोर्नु परेको उनको भनाइ छ । श्रीमती अर्चना र छोरीहरु आयुशी र अनुश्री व्यवसायमा नआउने पक्का भएपछि इतिहासबाट आएको उद्योगी पेसाको अन्तिम पुस्ताको रुपमा आफु नै रहेको उनले सुनाए । नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय अध्यक्षको रुपमा ६ वर्ष रहेर चियाको प्रवद्र्धनका लागि काम गरिसकेका उद्यमी अग्रवाल हाल झापा उद्योग सङ्घका सदस्य छन् ।
उद्योगसँगै सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय उनी थुप्रै संस्थामा आबद्ध छन् । भद्रपुरका यस्ता उद्योगका नक्षत्रलाई सरकारले संरक्षण गरी लगानी गर्ने वातावरण सहित हौसला बढाउन जरुरी देखिन्छ ।