झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्वेक्षक देवनारायण ठाकुर, सर्वेक्षक सुवासचन्द्र यादव र बिचौलिया
उमेश यादवविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर
गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
३ जनाउपर घुस रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको
अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार जग्गा
कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका
आधारमा आयोगको टोलीले तीन जनालाई ७० हजार नगद र ५५ हजारको चेकसहित एक लाख
२५ हजार रुपैयाँसहित असोज २६ गते नियन्त्रणमा लिएको थियो ।
उनीहरूविरुद्ध बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को (घ) बमोजिम हुने कैद सजाय माग गरिएको छ ।