झापा । झापाका १४ वटा स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट ल्याएका छन् । गौरीगञ्ज गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि १६ गते मात्रै बजेट ल्याउने भएको हो । अन्य १४ वटा पालिकाले बजेटसहितको नीति कार्यक्रम ल्याएका हुन् ।
नगरपालिकातर्फ सबैभन्दा बढी बजेट मेचीनगरको रहेको छ । मेचीनगरले दुई अर्ब पाँच करोडको बजेट सार्वजनिक गरेको छ भने दमकले एक अर्ब ६२ करोडको बजेट सार्वजनिक ग¥यो । यता बिर्तामोड नगरपालिकाले एक अर्ब २९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकातर्फ हल्दिवारी गाउँपालिकाले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । पालिकाले ८४ करोड ८९ लाख बजेट सार्वजनिक गरेको हो । कमल गाउँपालिकाले ७१ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्याे भने कचनकवलले ६६ करोड ३१ लाखको बजेट सार्वजनिक गरेको छ ।
बाह्रदशी गाउँपालिकाको बजेट ५० करोड
आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्रदशी गाउँपालिकाले ५० करोड ४५ लाख ४४ हजार नौ सय ९९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
अर्जुनधाराको ८५ करोड ५९ लाख
झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड ५९ लाख १० हजार बजेट विनियोजन गरेको छ ।
कनकाईको बजेट ६९ करोड ७७ लाख
झापाको कनकाई नगरपालिकाले नगरको वृहत्तर विकासलाई लक्षित गरी आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार १६ औं नगरसभामा नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरको वृहत्तरहितका लागि आगामी आर्थिक वर्षका लागि १८४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति कार्यक्रमसहित नगरपालिकाले ६९ करोड ७७ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको हो ।
बुद्धशान्तिको ६४ करोड ८ लाख
बुद्धशान्ति गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १४ औं गाउँसभा अन्तर्गत बजेट अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेका थिए । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको सभामा उपाध्यक्ष खतिवडाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।
हल्दिवारीको ४८ करोड ८९ लाख
हल्दिवारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४८ करोड ८९ लाख रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८१/०८२ को वजेट गाउँसभाले सर्वसम्मत स्वीकृत गरेको छ । उपाध्यक्ष लक्ष्मीदेवी मैनालीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा वार्षिक आयव्यय समेटिएको बजेट गाउँसभाले अनुमोदन गरेको हो ।
झापाको ४९ करोड ९० लाख
झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८१/०८२ को बजेट गाउँ सभाले सर्वसम्मत स्वीकृत गरेको छ । पालिका कावा अध्यक्ष अञ्जुदेवी थपलियाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा वार्षिक आयव्यय समेटिएको बजेट गाउँसभाले अनुमोदन गरेको हो ।
आगामी आर्थिक वर्ष २०८१– ०८२ को नीति तथा कार्यक्रमका लागि ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । १६ औं गाउँसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलियाले चालू आर्थिक वर्षको भन्दा कम बजेट प्रस्तुत गरेकी हुन् ।
दमकको १ अर्ब ६२ करोड
आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि झापाको दोस्रो पुरानो नगरपालिकाको रुपमा रहेको दमकले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।
नगरपालिकाको १५ औं नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईँले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेकी हुन् । सो बजेट चालू आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.७२ प्रतिशतले बढी हो । उपप्रमुख प्रसाईँले वार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गरेको कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले नगर सभाको अध्यक्षता गरेका थिए ।
कमलको ७१ करोड ८३ लाख ८४ हजार
‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ कमल गाउँपालिकालाई सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प सहित वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको थियो ।
गाउँपालिकाको विकास र समृद्धिको लागि राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय तथा दिगो विकास सहितको पूर्वाधार निर्माण गर्न स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी तथा दिगो स्थानीय आर्थिक विकासमार्फत समृद्घ गाउँपालिकाको लक्ष्य हासिल गर्ने नीति तथा कार्यक्रम पेश गरिएको छ ।
त्यसैगरी गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधारका विकासमा केन्द्र सरकार, प्रदेश सरकारबाट प्राप्त स्रोतहरु र आन्तरिक स्रोत तथा साधनहरु परिचालन गरी आर्थिक तथा सामाजिक विकासका कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्दै जनतालाई स्थानीय सरकार भएको अनुभूति दिलाउने खालका कार्यक्रम सञ्चालन गरिने समेत अध्यक्ष राईद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले १५ औँ गाउँसभामाको पहिलो बैठकमा आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष न्यौपानेले ७१ करोड ८३ लाख ८४ हजार रुपैयाको अनुमानित आयव्यय प्रस्तुत गरिन् ।