झापा । झापाको कन्काई मेलामा मेला ठेक्का लिनेहरुले पार्किङ र भिटौरी करको नाममा ठगी गरेका छन् ।
सम्बन्धित पालिकाहरु कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माई मेलाका लागि तोकेको दररेटभन्दा मेला संचालकहरुले दोब्बर तेब्बरबढी रकम असुलेका हुन् । कनकाई नगरपालिकाले कनकाई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क रु २० , मोटरसाइकल पार्किङ शुल्क रु ५०, कार, जिप, भेन साना सवारीसाधन पार्किङ शुल्क रु १०० र ठूला सवारी बस , ट्रकसमेतका लागि पार्किङ शुल्क रु २०० दररेट कायम गरेर मेला संचालकलाई संचालनको अनुमति दिएको थियो । तर, मेला संचालकले नगरपालिकाले तोकेको दररेटभन्दा दोब्बर र तेब्बरबढी रकम असुलेका छन् ।नगरपालिकाले स्कुटर र मोटरसाइकलको लागि ५० रुपैयाँ पार्किङ शुल्क तोकेकोमा मेला संचालकले १०० रुपैयाँ असुलेका छन् भने कार, जिप, भेन , छोटाहात्तीका लागि १०० रुपैयाँ तोकिएकोमा त्यसको तेब्बर ३०० रुपैयाँ शुल्क उठाएका छन् ।
त्यस्तै कनकाई नगरपालिकाले भिटौरी करतर्फ प्रति स्क्वायर फुट (स्पेशल) रु २५ , भिटौरी प्रति स्क्वायर फुट (न्यूनतम) रु २० र सबैभन्दा साना पसलका लागि न्यूनतम रु ५०० तोकेको थियो । तर, मेला संचालकले दररेटभन्दा निकै बढी आफूखुशी भिटौरी कर लिएको व्यवसायीहरुले बताएका छन् । तीर्थयात्रीले भन्दा पनि यो वर्ष माईमेलामा व्यापार गर्नेले अधिक गुनासो गरेका हुन् । सवारी पार्किङ शुल्क, स्टलको लागि भिटा, विद्युत, आवश्यक वस्तुको शुल्क अत्यधिक असुल गरिएको उनीहरुले गुनासो गरेका हुन् । कनकाईको पश्चिम तटीय क्षेत्रमा लागेको मेला शिवसताक्षी नगरले ठेक्का दिएर आयोजना भएको हो भने कोटीहोम क्षेत्रमा कनकाई नगरपालिकाले ठेक्का लगाएर आयोजना भएको हो ।
व्यवसायीहरुले एक फुट भिटाको १ हजार रुपैयाँसम्म ठेकेदारले रकम असुल गरेको गुनासो गरेका छन् । ‘हाम्रो व्यापार एक दिन हुन्छ । उहाँहरुले पाँच दिनका लागि भन्दै जवरजस्त शुल्क उठाउनु हुन्छ,’ शिवसताक्षीका व्यवसायी हिक्मत लामाले भने ‘यस्तै हो भने अर्को वर्षदेखि ऐतिहासिक धार्मिक माघे संक्रान्तिको मकर मेला निमिट्यान्न हुन बेर हुन्न ।’
नगरले १० लाख रुपैयाँमा नघट्ने गरी सूचना प्रकाशित गरेपनि भ्याटसहित अनुमानित २४ लाख रुपैयाँमा सम्झौता भएको कनकाइ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए । पालिकाले तोकिएको दररेट भन्दा बढी रकम लिएमा कारबाही हुने उनले बताए । कारवाही गर्ने विभाग फरक भएकोले कस्तो कारवाही हुन्छ भन्ने विषयमा ज्ञान नभएको उनले जनाए ।
बढी रकम लिएको विषयमा नगरपालिकासँग जानकारी लिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बताए । तोकिएको दर रेट भन्दाबढी रकम लिनु गलत भएको उनले जानकारी दिए । जानकारी पाएपछि तत्काल नगरप्रमुखलाइ सम्पर्क गर्दा समस्या समाधान भइसकेको जानकारी पाएको उनको भनाइ छ ।
कनकाई नदीमा
वर्षेनि लाग्दै आएको माईमेला यस वर्ष पनि उल्लासका साथ लागेको थियो ।
प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला हेर्न कनकाई माई किनारमा हजारौ
भक्तजनको घुँइचो लागेको थियो ।माईमेलामा नेपाल र भारतबाट भक्तजनहरु आउने
गरेका छन् । यो बर्ष अन्य बर्षभन्दा बढी भिडभाड रहेको कोटीहोम धार्मिक
विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले जाकारी दिए ।
विगतका वर्षभन्दा यो वर्ष मेला व्यवस्थित भएको तीर्थयात्रीले बताएका छन् । कनकाई पुलमा तीर्थयात्रीको पैदलयात्रालाई प्रहरीले रोकेपछि विगत वर्षको जस्तो जाम थिएन । पुलको दुवै मुखमा प्रहरीको तैनाथीले एक मिनेट पनि जाम भएन । माई मेलाको सुरक्षाका लागि करिव २ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । मेलाको सुरक्षाका लागि सशस्त्र प्रहरी ,नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालित थिए ।