झापा / काठमाडौंमा सुनजस्तो देखिने पहेँलो धातु देखाएर विभिन्न व्यक्तिबाट पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्। उनलाई प्रहरीले भदौ २५ गते साँझ टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापा मगरले सुनजस्तो देखिने पहेँलो धातु वास्तविक सुन भएको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पारी पटक–पटक रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ गर्ने क्रममा उनको साथबाट नक्कली सुनजस्तो देखिने ८५६ ग्राम पहेँलो धातु समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका थापा मगर यसअघि जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी रहेकोसमेत खुलेको छ। उनी २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापा मगरविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनामा ठगीमा संलग्न अन्य व्यक्ति वा थप पीडितबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।