बुद्ध एयरको एटीआर–७२–५०० जहाज भद्रपुर विमानस्थलमा दुर्घटना हुनुमा चालक दलको लापरबाहीसँगै रातिको समयमा धावनमार्गको कमजोर दृश्यता र पछाडिबाट आएको हावाको समेत भूमिका रहेको जाँचबुझ आयोगको निष्कर्ष छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित जाँचबुझ आयोगले तयार पारेको अन्तिम प्रतिवेदनमा जहाजमा कुनै ठूलो प्राविधिक कमजोरी नभेटिएको उल्लेख गर्दै उडानका क्रममा चालक दलको कार्यशैलीमा गम्भीर कमजोरी देखिएको जनाएको छ।
प्रतिवेदनअनुसार उडानका क्रममा ककपिटमा गीत बजिरहेको थियो। चालक दलका सदस्यहरू उडानसँग प्रत्यक्ष सम्बन्ध नभएका कुराकानीमा समेत व्यस्त रहेको पाइएको आयोगले जनाएको छ। १० हजार फिटभन्दा तल लागू हुने ‘स्टेराइल ककपिट’ नियमसमेत प्रभावकारी रूपमा पालना नभएको प्रतिवेदनमा उल्लेख छ।
पाइलट मनिटरिङतर्फ रहेका चालक दलका सदस्यले रेडियो सुन्दै केही समय निदाएको वा ‘माइक्रोस्लिप’ भएकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसले अवतरणका क्रममा उडान गरिरहेका पाइलटलाई आवश्यक अनुगमन र मार्गदर्शन प्रभावकारी रूपमा हुन नसकेको आयोगको निष्कर्ष छ।
अवतरणको क्रममा जहाजलाई रोक्न पर्याप्त दूरी उपलब्ध नहुँदा समस्या थप गम्भीर बनेको थियो। आयोगका अनुसार जहाज निर्धारित गतिभन्दा करिब २० नट बढी गतिमा धावनमार्गको थ्रेसहोल्डमा प्रवेश गरेको थियो।
भद्रपुर विमानस्थलको धावनमार्ग १ हजार ५०० मिटर लामो भए पनि जहाजले करिब १ हजार ८० मिटर पार गरेपछि मात्र धावनमार्ग छोएको थियो। त्यसमाथि अवतरणका बेला २ देखि ९ नटसम्मको टेलविन्ड रहेको हुँदा जहाज रोक्न थप दूरी आवश्यक परेको थियो।
गत पुस १८ गते काठमाडौं–भद्रपुर उडानमा रहेको नाइन एन–एएमए कलसाइनको बुद्ध एयरको जहाज राति करिब ९ बजेर ५ मिनेटमा भद्रपुर विमानस्थलमा दुर्घटनामा परेको थियो। जहाज निर्धारित टचडाउन क्षेत्रभन्दा धेरै पछाडि अवतरण भएपछि धावनमार्गमा रोक्न सकेन।
जहाज धावनमार्गको अन्तिम भाग पार गर्दै करिब १८३ मिटर अगाडि पुगेपछि विमानस्थलको भित्री बार भत्काएर खोल्सातर्फ पुगेको थियो। जहाजमा ५२ यात्रु र चालक दलका चार सदस्य गरी ५६ जना थिए। घटनामा को–पाइलटसहित चार यात्रु सामान्य घाइते भएका थिए।
दुर्घटनाका कारण जहाजको नोज ल्यान्डिङ गियर भाँचिएको थियो भने दुवै प्रोपेलरलगायत विभिन्न भागमा गम्भीर क्षति पुगेको थियो।
दुर्घटनापछि इन्जिन बन्द गर्ने क्रममा ‘कन्डिसन लिभर’ थिचिएपछि इन्जिन जाम भएको र दाहिने इन्जिन केही समयसम्म चलिरहेकाले उद्धार कार्यमा समेत थप चुनौती उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, दुर्घटनापछि ककपिट र यात्रु क्याबिनमा आपत्कालीन बत्ती नबल्दा विमानभित्र अँध्यारो भएको र त्यसले उद्धारमा कठिनाइ थपेको आयोगले जनाएको छ।
आयोगले दुर्घटनामा चालक दलको कमजोरी मात्र नभई विमानस्थलको पूर्वाधारसमेत एउटा महत्वपूर्ण पक्ष भएको औंल्याएको छ। रातिको अवतरणका क्रममा धावनमार्गको अन्तिम भागका बत्ती स्पष्ट रूपमा देखिन नसकेको तथा सेन्टरलाइन लाइटसमेत पर्याप्त नभएको प्रतिवेदनमा उल्लेख छ।
बत्तीहरू उचित रूपमा मिलाइएको अवस्थामा नरहेको कारण उडान टोलीलाई जहाजको उचाइ र धावनमार्गसँगको दूरीको सही अनुमान गर्न कठिनाइ भएको आयोगको निष्कर्ष छ।
यसरी बुद्ध एयरको भद्रपुर दुर्घटनामा चालक दलको लापरबाही, अवतरणसम्बन्धी निर्णयमा कमजोरी, रातिको कमजोर दृश्यता, टेलविन्ड र विमानस्थलको प्रकाश व्यवस्थालगायतका विभिन्न कारण एकसाथ जोडिएको आयोगको प्रतिवेदनले देखाएको छ।