झापा / इजरायल–अमेरिका र इरानबीच जारी युद्धले विश्व अर्थतन्त्रमा तनाव सिर्जना गरिरहेको बेला यसको प्रत्यक्ष असर नेपालमा समेत देखिन थालेको छ।
आयातमा निर्भर र वैदेशिक रोजगारीबाट धानिएको नेपाली अर्थतन्त्र यस्ता अन्तर्राष्ट्रिय द्वन्द्वप्रति संवेदनशील हुने भएकाले दैनिक जीवनदेखि समग्र अर्थतन्त्रसम्म दबाब बढ्दै गएको हो।
युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुँदा मूल्य उकालो लागेको छ। यसको प्रत्यक्ष असर नेपालमा देखिँदै गएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यास आपूर्तिमा असन्तुलन र केही स्थानमा लाइन बस्नुपर्ने अवस्था देखिन थालेको छ। यसले यातायात, उद्योग तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पारिरहेको छ।नेपालमा मासिक ४५ देखि ४६ हजार टन एलपी ग्यास खपत हुन्छ । तर, पर्याप्त भण्डारणगृह नहुँदा निगमको मौज्दातले मुस्किलले एक सातामात्र धान्छ ।
त्यस्तै निगमसँग पेट्रोल १० दिन, डिजेल १२ देखि १३ दिन र हवाई इन्धन १५ दिनलाई मात्र पुग्ने भण्डारण क्षमता छ ।
अहिले ग्यास बुलेट ट्रकमार्फत ल्याइन्छ भने अधिकांश पेट्रोलियम पदार्थ मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट आयात भइरहेको छ ।
इन्धन महँगिएसँगै ढुवानी खर्च बढ्दा बजारमा उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ। खाना पकाउने तेल, तरकारीदेखि निर्माण सामग्रीसम्मको मूल्य उकालो लाग्दा सर्वसाधारणको जीवनयापन खर्च बढेको छ। आर्थिक रूपमा कमजोर वर्ग सबैभन्दा बढी मारमा परेको देखिन्छ।
मध्यपूर्व क्षेत्रमै युद्धको प्रभाव पर्ने भएकाले त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षाबारे चिन्ता बढेको छ। रोजगारीका अवसर घट्ने र आय घट्ने सम्भावनाले रेमिट्यान्समा असर पर्न सक्ने देखिन्छ। नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्समा गिरावट आए आर्थिक गतिविधि थप सुस्त हुन प्रवल सम्भावना छ।
युद्धका कारण केही अन्तर्राष्ट्रिय हवाई मार्ग असुरक्षित बन्दा उडान तालिका प्रभावित भएको छ। यसले नेपाल आउने पर्यटकको संख्या घट्ने सम्भावना देखिएको छ। पर्यटन क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थानको चरणमै रहेका बेला यस्तो असर थप चुनौती बनेको छ।
मध्यपूर्व हुँदै हुने विश्व व्यापारमा अवरोध आउँदा नेपालमा आयात हुने वस्तुको आपूर्ति ढिलो हुने र लागत बढ्ने देखिएको छ। यसले बजारमा अभाव र मूल्यवृद्धि दुबै निम्त्याउन सक्छ। जसकाे कारण सर्वसाधारण र दैनिक ज्यालादारी मजदुरलाई जिवन धान्न निक्के असहज हुन्छ ।