झापा । झापाका व्यवसायी सञ्जीव घोषको परिवारले सामुदायिक विद्यालयका २ सय ४६ जना विद्यार्थीलाइ जाडोको कपडा वितरण गरेका छन् । विर्तामोड ८ देउनिया डाँडामा रहेको शुक्रराज आधारभूत विद्यालयका बाल कक्षा देखी ८ सम्म अध्ययनरत विद्यार्थीलाइ कपडा वितरण गरेका हुन् ।
दाताको आग्रहमा विद्यालय परिवारले आइतबार आयोजना गरेको कार्यक्रममा भद्रपुरका व्ययवसायी घोष र उनकी श्रीमती तथा दर्शन गार्मेन्टकी प्राेपाइटर पीङ्की साह घोषले कपडा वितरण गर्दै विद्यालय परिसरमा वनभोजको समेत आयोजना गरेका थिए ।
कानुन व्यवसायी एवम पूर्व विद्यार्थी स्वागत नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालले पुस्तकालयलाइ ५० हजार मूल्य बराबरको पुस्तक निःशुल्क सहयोग गर्ने घोषणा गरेका थिए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवार र शिक्षकहरूमा मुद्दा परेको
खण्डमा निःशुल्क वकालत गरिदिने प्रतिबद्धता पनि जनाएका थिए ।
सामुदायिक विद्यालयका विद्यार्थीहरुको दयनीय अवस्था देखेर न्यानो कपडा वितरण गरेको दाता घोषले बताए । यस प्रकारका सामाजिक कार्य वार्षिक रूपमा गर्दै आइरहेकाे उनले बताए ।
जाडोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थी लगायत विद्यालय परिवार र अभिभावक खुसी देखिएका थिए ।
विद्यालयमा बाल रोग विशेषज्ञ रविन रेग्मी लगायतको चिकित्सक टोलीले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा बक्सिङ संघ झापाका सचिव तर्कराज राई, डा. रविन रेग्मी, दाता सञ्जीव घोष लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक सोमादेवी दुलालले प्रकाश पारेकाे कार्यक्रमको सञ्चालन शिक्षक रमेश ढुङ्गेलले गरेका थिए भने कार्यक्रमको सहजीकरण टिकाराम नेतिले गरेका थिए ।