झापा । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुंगीमा रहेको आदिवासी रंगशालाको पुनः निर्माण शुरु भएको छ ।
आज रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रम गरी निर्माण कार्यको औपचारिक
रुपमा शुभारम्भ गरिएको हो । निर्माण कार्यको शुभारम्भ रंगशालाका
अध्यक्षसमेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरे ।
निर्माण
कार्यको शुभारम्भका क्रममा अध्यक्ष राईले आदिवासी रंगशालाको कामले अव गति
लिने बिश्वास व्यक्त गरे । उनले यो रंगशाला कमलकै गहना भएकाले यसको विकासमा
सबै एक भएर लाग्नुको विकल्प नभएको औल्याए । उनले भने,‘आदिवासी रंगशालालाई
समयमा नै निर्माण सम्पन्न हुनेगरी काम अघि बढाउन स्थानीय सरकार यसमा गंभीर छ
’
रंगशालाको अगुवाई स्थानीय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले
गर्दै आएको छ । २०६६ सालमा त्यहाँ बर्षौदेखिको आदिवासी, जनजातिको पितृको
चिहान भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीय स्तरमा सहमति भएको
थियो । तर ,पछिल्ला केही बर्ष भने रंगशालाको नाममा विवाद भएपछि रंगशालामा
सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो ।
रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद
परिषदमार्फत यस वर्ष रु १ करोड बजेट बिनियोजन भएको छ । सोहि बजेटबाट
रंगशालाको काम थालिएको हो । बजेटमध्ये डीपीआर अनुसारको उपभोक्तामार्फत
रंगशालाका प्रारिम्भक चरणका थप कामहरु शुरु गरिएको उनले बताए ।
यस वर्ष
रंगशाला निर्माणका लागि परिषदको रु ७६ लाख ९२ हजार ६ सय ९२ र उपभोक्ताको रु
८ लाख ५४ हजार ६ सय ९२ रुपैयाँ गरी कुल रु ८५ लाख ४६ हजार ९ सय २८
रुपैयाँको वजेटबाट ३ सय मिटर लामो कम्पाउण्ड वाल निर्माण गरिने उनले
जानकारी दिए । रंगशाला निर्माणको राखेपसंग यसअघि नै रंगशाला समितिले संझौता
गरिसकेको रंगशाला निर्माण उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ता समितिले माघ १८ बाट शुरु गरी २०८२ जेठ १५ गतेभित्रमा योजना
अनुसार काम सम्पन्न गर्नुपर्र्ने संझौतामा उल्लेख छ । निर्माण कार्यलाई
प्रभावकारी बनाउन उपभोक्ता समितिले साताको शनिवार स्थानीयलाई श्रमदान
गर्नेगरी काम अघि बढाउने उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।
उक्त वजेट अनुसारको काम सम्पन्न गर्न रंगशाला समिति तथा सरोकारवालाहरुले
महासचिव दिपेनवाला राईको अध्यक्षतामा पाँच सदस्यीय उपभोक्ता समिति र
पालिका अध्यक्ष हुकुमसिंह राईको संयोजकत्वमा अनुगमन समिति गठन गरेका छन् ।
गठित उपभोक्ता समितिको उपाध्यक्ष विष्णुमाया थापा, सचिवमा रविन
गुरुङ,कोषाध्यक्षमा देवेन्द्रराज आङदेम्बे तथा सदस्यहरुमा रोशन दाहाल,सुदिप
राई र मनकुमारी लिम्बू रहेका छन् ।
यसैगरी, अनुगमन समितिको सदस्यहरुमा रन्जित तामाङ, नित्यानन्द ताजपुरिया,
विष्णु सुब्बा आङदेम्बे, लालबहादुर विष्ट, पारसमणि राई रहेका छन् ।
सरकारले रंगशालामा वजेट उपलव्ध नगराउँदा रंगशालाको कामले गति लिन सकेको
थिएन् । रंगशालाका लागि विभिन्न आर्थिक वर्षमा रु ४ करोड बढी वजेट बिनियोजन
भएपनि वजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा रंगशाला ओझेलमा परेको
स्थानीयको भनाई छ ।