झापा । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस
वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ। दुई नगरपालिका र
आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा
सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ। केन्द्रका कृषि प्रसार
अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५
मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
यस
वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले
जानकारी दिए। “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको
सुन्तलाले उत्पादन दिन थालेको छ। गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन
बढी उत्पादन भएको देखिन्छ”, उनले भने, “आगामी वर्ष थप वृद्धि हुँदै जाने
अनुमान छ। किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै
व्यावसायिकरूपमा खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ।”
जन्तेढुङ्गा वडा नम्बर –६ दिप्लुङबाट
मात्रै यस वर्ष एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा
जगत् राईले दाबी गरेका छन् । “हाम्रो वडाको फगतपुर, चोभे, सातमारा,
केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ। यस वर्ष रु एक
करोडभन्दा बढीको निर्यात गरेका छौँ”, उनले भने, “कसैले आफैँले बजारसम्म
पुर्याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन्।
मैलेचाहिँ आफैँले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको
फत्तेपुरलगायतका बजार पुर्याएर छ लाखको बेचेँ। यस वर्षभन्दा अर्को वर्ष अझै
उत्पादन बढ्ने अपेक्षा गरेका छौँ।”
जिल्लाको
दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले भन्ने एउटै
गाउँबाट एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन्।
उक्त वडाको वाचिपाला, खुुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला
निर्यात भएको जनाइएको छ। जन्तेढुङ्गा गाउँपालिकामा कात्तिक अन्तिम
हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले
जानकारी दिए । जन्तेढुङ्गाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म
रोगसमेत नदेखिएको बताइएको छ।
दिप्रुङ
चुइचुम्मा गाउँपालिका वडा नम्बर –१ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर
कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्याएकाले गत वर्षको तुलनामा
आधामात्र उत्पादन भएको जनाइएको छ। कुँवरले गत वर्ष नौ लाखको सुन्तला बेचेको
बताएका छन्।
आफूले उत्पादन
गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकेजी एक सय १० देखि एक सय ३०
सम्ममा बिक्री भइरहेको उनले बताए। “यस वर्ष सुन्तलाबाट कम्तीमा पनि २० लाख
कमाउने इच्छा थियो तर, असिनाले खत्तम गरिदियो। मैले चार सय बोट सुन्तला
लगाएको छु। अहिले एक सय ३० बोटले उत्पादन दिन थालेको छ”, उनले भने “अर्को
वर्ष अरु बोटले पनि उत्पादन दिन्छ। अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सजिलो र
बढी आम्दानी दिने भएकाले यस वर्ष थप चार सय बोट बिरुवा रोप्ने योजनामा
छु।”
रावाबेँसी गाउँपालिकामा पनि
यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं २ खार्पाका स्थानीय किसान
राजबहादुर मगरले बताएका छन्। “सुन्तलाबाट आएको आम्दानीले वर्षभरि माछा–मासु
खान र घर खर्च पुग्छ। यसअघि रोगले गर्दा धेरै क्षति भएको थियो”, उनले भने,
“केही वर्षदेखि बगानमा देखिएको रोग गत वर्ष नियन्त्रण गर्ने प्रयास गरेका
थियौँ। केही हदसम्म सफल पनि भएका छौँ। सम्भवतः आगामी वर्षदेखि धेरै समस्या
नदेखिएला भन्ने लागेको छ। रोग देखिएन भने राम्रो उत्पादन हुन्छ।”
जिल्लाका
अन्य स्थानीय तहका किसानले पनि सुन्तलाबाट राम्रो आम्दानी गरिरहेको कृषि
ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ। जिल्लामा यातायातको सुविधा सहज
भएपछि बजारसम्मको सिधा पहुँच विस्तार भएसँगै सुन्तलाखेतीप्रति किसानको
आकर्षण बढेको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिए । जिल्लामा उत्पादित
सुन्तला जिल्लाभित्रकै हाटबजार तथा धरान, विराटनगर, काठमाडौँलगायतका सहरमा
निर्यात हुने गरेको पाइएको छ। जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी
बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन्।
जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताएका छन्। “सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरै किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गर्न थालेका छन्। आगामी दिनमा व्यावसायिकरूपमा खेती गर्ने किसानका लागि सुन्तला ठूलो आर्थिक आम्दानीको स्रोत हुने अनुमान गरेका छौँ।” सुन्तलाखेती गर्ने किसानका लागि कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ। जिल्लाका हरेक स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका कार्यक्रम बनाएर लागू गरेका छन्।