बेलबारीमा हात्तीको आक्रमणबाट लेटाङका पुरुषको मृत्यु
१८ मंगशिर २०८०, सोमबार
बेलबारी।मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ
बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको पाइएको छ।
बाटो हिँड्नेहरुले जंगलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ।
माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेका थिए । मर्चा लिएर लक्ष्मीमार्ग बजारतर्फ आउँदै गर्दा घटना भएको प्रहरीको भनाइ छ । घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती बढी नै आक्रामक हुन्छ । घरेलु मदिरा बनाउने गरिएका घरहरुलाई लक्षित गरेर हात्तीले वितण्डा मच्चाउने गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार भाउन्ने आसपासमा आइतबार रातभर २०–२२ वटाजति हात्ती देखा परेका थिए। स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जंगलतर्फ धपाएको जानकारी डीएसपी दाहालले दिए । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती देखा परिरहेका छन् ।
लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतंक मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा हात्तीले मच्चाइरहेको हो । सुनसरीको इटहरीमा पनि केही दिनअघि हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको थियो ।
दुई सातायता जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न र हात्तीबाट सुरक्षित हुन सबैमा प्रहरीले अनुरोध गरेको छ । हात्तीको बथानमा एउटा छावा (हात्तीको बच्चा) पनि छ । बच्चा साथमा भएकाले पनि हात्ती अलि बढी आक्रामक भएको हुनसक्ने अनुमान प्रहरीको छ ।