झापा । झापा गाउँपालिका समूह बिजेता बन्दै भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
आजको खेलमा हारका बाबजुद झापा गाउँपालिका समूह ख को बिजेता बनेको हो ।
आज भएको समूह ख को पाँचौँ खेलमा छिमेकी नगरपालिका कनकाईसँग हार व्यहोरे पनि
यसअघिको दुई जित र गोल अन्तरका आधारमा झापा गाउँपालिका समूह बिजेता बनेको
हो ।
कनकाईले लिग चरणमा पहिलो जित दर्ता गरे पनि नकआउटमा प्रवेश गर्न सकेन । यसअघि कनकाई नगरपालिकाले दुई हार व्यहोरेको थियो ।
आजको खेलमा कनकाईले झापालाई १–० गोल अन्तरले हराएको हो । कनकाईका सन्दीप
रसाइलीले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । प्लेयर अफ दि म्याच भएका
उनले नगद दुई हजार र ट्रफी पाए ।
यसैबीच, आज भएको दोस्रो तथा समूह ख को लिग चरणको अन्तिम खेलमा गौरादह
नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै गौरादह पनि नकआउट चरणमा
प्रवेश गरेको छ ।
गौरादहसँगको हारसँगै समूह ख मा रहेको भद्रपुर ब्लेजर्स भने लिग चरणबाटै
बाहिरिएको छ । आजको खेलमा भद्रपुर ब्लेजर्समाथि जित्नैपर्ने दबाबमा रहेको
गौरादहले आफू पछि परेको नतिजा उल्ट्याउँदै नकआउटमा नाम लेखाएको हो ।
खेलको
पहिलो हाफमा भद्रपुर ब्लेजर्सले २–० को अग्रता लिए पनि दोस्रो हाफमा
सम्हालिन नसक्दा नतिजा गौरादहलाई सुम्पिनु परेको थियो । दोस्रो हाफमा खेलमा
फर्किएको गौरादहले भद्रपुर ब्लेजर्सलाई निकै नै दबाबमा राखेको थियो ।
गौरादहले
भद्रपुर ब्लेजर्सलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको २६ औँ मिनेटमा
भद्रपुर ब्लेजर्सका निकेश गुरुङ र ३१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले गोल
गरेका थिए ।
तर, गौरादहका लागि ४५ औँ मिनेटमा पासाङ लामा तथा ६३ औँ र ६९ औँ मिनेटमा
अमन ताजपुरियाले गोल फर्काएपछि भद्रपुर ब्लेजर्स लिग चरणबाटै बाहिरिएको हो ।
लिग चरणमा गौरादहले दुई खेल जित्यो भने एक खेल हार्यो ।
खेलको प्लेयर
अफ द म्याच भएका गौरादहका अमन ताजपुरियाले नगद दुई हजार र ट्रफी पाए । आजको
दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दिपेश ढकाल,
भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, सौजन्यकर्ता सञ्जय
पोखरेल र केशवकुमार मैनालीले प्रदान गरेका थिए ।
फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना
भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार
श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने
छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर
फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते
हुने छन् ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने
उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।