झापा । ‘चुनाव आउँछ नेता आउँछन्, जितेर जान्छन् फर्केर आउँदैनन् । जनताका समस्या जस्ताको त्यस्तै ।’
यो
भनाइ झापाको दक्षिणी क्षेत्र कचनकवलका स्थानीयवासीको हो । कचनकवलका
पक्लावन, पक्ली भिट्टा, लोदाबारीलगायतका स्थानीयवासी नेताहरूले आफूलाई
वास्ता नगरेको महसुस गर्छन् । चुनावमा जितेर गएपछि जनप्रतिनिधि एकपटक पनि
गाउँ नफर्किएको उनीहरू बताउँछन् । उनीहरू आफ्ना पीडामा कुनै पनि तहले
सम्बोधन नगरेको भन्दै आक्रोस पोख्छन् । यी क्षेत्रहरूलाई नेपाल सरकारले
नेपाली नभई भारतीयजस्तो ठानेर व्यवहार देखाएकोमा उनीहरूको चित्त दुखाइ छ ।
प्रदेश र सङ्घको त के कुरा स्थानीय जनप्रतिनिधिले समेत वास्ता नगरेको
उनीहरूले गुनासो गरे ।
‘नेतालाई भोट मात्र चाहिने ?’
भोटको
समयमा ‘यो गर्दिन्छु, त्यो गर्दिन्छु’ भन्दै भोट माग्न आएका नेता त्यसपछि
अहिलेसम्म मतदाताका घरमा नआएको स्थानीय जैनु मियाँ बताउँछन् । नेताप्रति
आक्रोसित उनले नेताकै कारण आफूले दुःख पाएको बताए । ‘हिउँदको समयमा धुलो र
वर्षायाममा डुबानसँगै हिलाम्मे सडकका कारण कष्टकर जीवन बिताउन बाध्य छौं’
स्थानीय खलिल मियाँ भन्छन्, ‘पानीको निकास छैन, सडकमा नाला छैन । नेतालाई
भोट मात्र चाहिने ?’
सोही बस्तीका नर्जुमान अलीको पीडा उस्तै छ । गाउँपालिकाबाट हालसम्म कुनै सुविधा नपाएको उनी बताउँछन् । गाउँका लागि आएको २ सयभन्दा बढी इन्डक्सन चुलो अहिलेका नेताले गायब बनाएको समेत उनले आरोप लगाए । नेपालका बजारमा अत्यधिक महँगो भएका कारण भारतीय बजारमा नै भर पर्नुपरेको उनको भनाइ छ । नेपालको सबैभन्दा होचो ठाउँ कचनकवल स्तम्भ हेर्न आउने सडकको अवस्था व्यवस्थित नभएको उनीहरुले गुनासो गरे ।
सडक र विद्युतको माग
खानेपानी,
सडक, पानीको निकास नहुँदा बालाबालिकालगायत वृद्धवृद्धामा रोगको सङ्क्रमण
फैलिरहने स्थानीय मुख्तार मियाँ बताउँछन् । सडकका कारण वर्षायाममा
नानीहरुलाई विद्यालय पठाउन समस्या हुँदै आएको उनको भनाइ छ । उनी भन्छन्,
‘हाम्रो ठाउँलाई नेपालभन्दा छुट्टै राज्यजस्तो व्यवहार गरिँदै आएको छ ।’
जितेर गएका नेताले कुर्सी पाएपछि जनताको समस्या बिर्सिने गरेको उनी
बताउँछन् । उनीहरुले सरकारसँग नालासहितको सडक, विद्युत्, खाना पकाउने
इन्धनलगायतका माग गरेका छन् ।