अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्यो ।
भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट ३० हजार पुर्याउने निर्णय गर्यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय गर्यो ।
एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्वाङ निर्वाचित भएर आएसँगै २०७९ असार ८ मा पहिलो बैठकमै राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेका थिए । दुई वर्षपछि राईको तलब बढाउने प्रस्ताव पनि पंकजले नै लगेका हुन् । ‘महासचिवको तलब बढाउने आधार एउटा कामको मुल्याङ्कन हो । अर्को उहाँलाई आर्थिक रुपमा कमी नहोस् भनेर हो’, एन्फा अध्यक्ष नेम्वाङले भने ।
तर फुटबल विश्लेषकहरु भने महासचिवमा राई असक्षम पदाधिकारी बताउँछन् । उनी आएदेखि नेपाली फुटबल चलायमान हुन सकेको छैन । राइ महासचिव बनेदेखि ए र सी डिभिजन लिग प्रतियोगिता एक पटक मात्रै भएको छ । बी डिभिजन लिग हुन सकेको छैन ।
नियमित लिग र ब्यस्त घरेलु फुटबल अनिवार्य हुनुपर्ने हो । तर नेपाली फुटबल अस्तब्यस्त छ । फुटबलमा खेलेर बाँच्ने आधार नबनेपछि खेलाडी दिन प्रतिदिन विदेश पलायन भइरहेका छन् ।
एन्फा र राखेपबीच राम्रो समन्वय गर्न नसक्दा चार महिनाअघि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय फुटबल रंगशाला दशरथले अन्तर्राष्ट्रिय मान्यता गुमाउन पुगेको थियो । रंगशालामा फुटबल खेल्न योग्य नभएपछि फिफा विश्वकप छनोट २०२६ को खेल नेपालले बहराइनमा गएर खेलेको थियो ।
अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामा अहिलेको अवस्थामा महासचिवको तलब बढ्नु सही नभएको बताउँछन् । ‘तलब भन्दा पनि प्रतियोगिता भयो कि भएनन् भन्ने कुरा मात्रै हो’, उनले अगाडि भने, ‘अहिलको अवस्था र फुटबलले राम्रो गर्न नसकेको अवस्थामा उहाँ (महासचिव) त्यो तलब लिनु राम्रो होइन ।’
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा कुनै महासचिवको तलब ३/५/७ हजार डलर हुनसक्छ । तर त्यति तलब पाएका महासचिवले कस्तो कार्यक्रम दिएका छन्, हेर्नपर्छ ।