झापा । प्रहरीले नक्कली नोटसहित दुई जनालाई सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
प्रहरीले दिएकाे विवरण अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो । बरामद नोटको कुल रकम २४,००० रुपैयाँ रहेको जनाइएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक मेथुल यादवको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको जनाएकाे छ ।