झापा । एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बिहीवारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।
खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी
खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए ।
३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा
पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको
पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।
खेलको ४२ औँ मिनेटमा चित्लाङले १ गोल फर्कायो । चित्लाङका लागि विदेशी
खेलाडी फाजिलको हेडरलाई जनक कोइरालाले गरेको भली प्रहार सुन्दर गोल भएको
थियो ।
६५ औँ मिनेटमा अञ्जनको पासमा मैदानको मध्यभागबाट सिंगल खेल्दै नेमारले
एनआरटीका लागि अर्काे गोल थपे । ६८ औँ मिनेटमा शिशिर लेखीले गोल थप्दै
खेललाई ४–० को अवस्थामा पुर्याए । नेमारको पासमा डिबक्समा अनमार्क रहेका
लेखीले गोल गर्न सफल भएका थिए ।
८८ औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीले गोल थप्यो । गौरव श्रेष्ठले
अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै अञ्जनले ह्याट्रिक पूरा
गरेका थिए । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका
छन् ।
एनआरटीले विपक्षी पोस्टमा दर्जनौँ आक्रमण गरेको थियो । खेलको २१
औँ मिनेटमा अञ्जनले २५ यार्डबाट गरेको फ्रिकिक चित्लाङका गोलरक्षकले पञ्च
गरेर जोगाए । एकपक्षीय जस्तो खेलमा खेल अवधिभर एनआरटी हाबी भएको थियो । २८
औँ मिनेटमा नेमारले गोल गर्न सकेनन् । २९ औँ मिनेटमा अञ्जनको प्रहार पोलमा
लागेर फर्कियो ।
एनआरटीले गत वर्ष यही रंगशालामा भएको झापा गोल्डकपमा
चर्च ब्वाइजसँग १–० को हार व्यहोरेको थियो । भर्खरै सम्पन्न इलाम गोल्डकपको
एनआरटी च्याम्पियन हो ।
खेलको प्लेयर अफ द म्याच एनआरटीका कप्तान अञ्जन विष्ट भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
शुक्रबारको
पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच
हुने आयोजकले जनाएको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँगको भेट
पक्का गरेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार
पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल पुष ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको
सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख
रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्साहित गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।