साङ्केतिक तस्वीर
झापा । वालिकालाई दूर्व्यवहार गरेको आरोपमा झापा वाहुनडाँगीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १ वाहुनडाँगीका २० बर्षिय सन्देश श्रेष्ठ रहेकाे स्राेतले जनाएकाे छ । आरोपित श्रेष्ठ एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको मेचीनगर ९ मा सडकमा इस्काभेटर चालक कार्यरत रहेको थाहा भएको छ । उनीमाथि १२ वर्षीया वालिकालाई दूर्व्यवहार गरेको आरोप छ । स्राेतका अनुसार विहीवार राति ११ बजे खुट्टिडाँगी सडक किनारमा पार्किङ गरेर राखिएको इस्काभेटरबाट अभिभावकहरुले १२ वर्षीया वालिकालाई उद्धार गरेका थिए ।
राति पिसाब फेर्न कोठाबाट बाहिर निस्किएकी वालिका अचानक हराएपछि अभिभावकहरु खोज्दै सडकतिर जाँदा इस्काभेटरको चालक सिटमा डरले काम्दै बसेको अवस्थामा वालिकालाई भेटेका थिए ।
अभिभावकहरु खोज्दै आएपछि इस्काभेटरका चालक वालिकालाई गाडीमै छाडेर भागेका थिए । वालिकाले आफुलाई बोकेर इस्काभेटरमा पुर्याइएको प्रारम्भिक बयान दिएको स्रोतले जनाएको छ ।
एसियाली विकास बैंकको सहयोगमा मेचीनगर वडा नं. ९ मा हाल सडक निर्माण भइरहेको छ । उक्त सडकको निर्माण ठेक्का भारतीय (पटना) कम्पनीले पाएको छ । तर मूल ठेकेदारबाट स्थानीय निर्माण व्यवसायीले कामको खुद्रा ठेक्का लिएका छन् ।
घट्नापछि इलाका प्रहरी कार्यालय धुलाबारीले ५ दिनकाे म्याद थप गरी हिरासतमा उनलाइ राखिएकाे छ ।प्रहरीले वालिका र आरोपित श्रेष्ठ दुबैको स्वास्थ्य परीक्षण समेत गरिसकेको बुझिएको छ ।
स्थानीयबासीले घटना भित्रभित्रै मिलाउन प्रयास हुनसक्ने जनाउँदै घटनाको भरपर्दो अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कडा सजाय दिलाउनु पर्ने माग गरेका छन् ।
घट्नाका विषयमा जिल्ला प्रहरी प्रवक्ता एवम डिएसपी कृष्ण कुमार चन्दले ‘घटना थाहा नभएको’ जवाफ दिए ।