झापा । मेचीनगर लेडी जेसीजले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार नगरका चारजना महिलालाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ ।
धुलावारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य
सविना बजगाई, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल
उप्रेतीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । उत्कृष्ट नारी
सम्मान प्राप्त गर्नेहरुमा सावित्रा सापकोटा राई , गोमा बुढाथोकी, अनिता
थापा र अमृता आङ्देम्बे छन् । नगरको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको
कदर गर्दै उनीहरुलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको हो । सापकोटा इष्ट
होराइजन माविका प्रशासन प्रमुख, बुढाथोकी एभरेष्ट अंग्रेजी माविका सहायक
प्रधानाध्यापक, थापा पशुपति अंग्रेजी माविका सञ्चालक र आङ्देम्बे होलीवेल
माविका सञ्चालक हुन् ।
मेचीनगर लेडी जेसीजकी अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षतामा भएको
कार्यक्रममा लामो समयदेखि शैक्षिक क्षेत्रमा आवद्ध भएर समाजमा शिक्षाको
प्रकाश फैलाउँदैं राष्ट्रका कर्णधार र दक्ष जनशक्ति उत्पादनमा खेलेको
अतुलनीय योगदानको उच्च सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको जनाईएको छ ।
सम्मानित व्यक्तित्वहरुको जीवनीबारे मेचीनगर लेडी जेसीजकी सचिव सुष्मा
राजवंशीले जानकारी दिएकी थिइन् । कार्यक्रमको औचित्यमाथि अध्यक्ष पवित्रा
विमली प्रसाईले प्रकाश पारेकी थिइन् ।