झापा / सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा दर्ता रहेको मुद्दा अंगभंगसम्बन्धी कसुरमा परिणत भएको छ । अनुसन्धानका क्रममा अभद्र मुद्दा अंगभंगमा परिणत भएको हो ।
मेयर यादवले चैत २३ गते बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए । कुटपिटबाट उनको छातीको करङ भाँचिएको छ ।
यस घटनामा चैत २५ मा जिल्ला प्रहरी कार्यालय, सिरहाले नगर प्रमुख यादवसँगै कुटपिटमा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तरमाथि पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी लिएको थियो ।
घटनालगत्तै कुटपिटमा संलग्न कर्मचारी मेस्तर पक्राउ परिसकेको भए पनि नगर प्रमुख यादवलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रमुख यादव फरार रहँदै आएको र उनको खोजीकार्य भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।
'हाम्रोमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएसँगै उहाँको खोजी गरिरहेका छौं, फेला पर्नुभएको छैन, लुकिछिपी बस्दै आउनुभएको छ,' डीएसपी पालले भने, 'हामी अझै खोजीमै छौं, उहाँ पक्राउ पर्नुहुन्छ ।'