झापा / नेपालको पूर्वी तराई क्षेत्रमा नयाँ वर्षको आगमनसँगै मनाइने सिरुवा पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ। विशेषगरी झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहा जिल्लाका राजवंशी, थारु, गंगाई, ताजपुरिया तथा माझी समुदायले यस पर्वलाई आफ्ना प्रमुख सांस्कृतिक पर्वका रूपमा मनाउने गर्छन्।
झापाको भद्रपुरमा पनि आज एक समारोहकाबिच
भव्य सिरुवा पर्व मनाइएको छ ।
भद्रपुर– ६ स्थित भातियाबारीमा
आदिवासी राजवंशी भाषिक सास्कृतिक विकास प्रतिष्ठान भद्रपुरले आयोजना गरेको वृहत
सिरुवा पावनी सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष समानसिंह
राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निवर्तमान संघीय सांसद अमृतलाल
राजवंशी रहेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव विवेक राजवंशीले
गरेका थिए ।
प्रमुख अतिथि राजवंशीले दिप प्रज्वल
गर्दै व्यानर वाचन गरेर कार्यकमको औपचारिक उद्घाटन गरेका थिए भने प्रतिष्ठानका
उपाध्यक्ष नन्द कुमार राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको उद्घाटनपछि अतिथिलगाय सबैजनाले
एक अर्कामा अविर लगाउदै खुशी साटासाट गर्दै रङ सिरुवामा रमाएका थिए ।
त्यसैगरी कार्यक्रमा भद्रपुर ६ का वडाध्यक्ष
रतिया राजवंशी, ४ का वडाध्यक्ष हंसराज राजवंशी, नेकपा एमालेका झापा जिल्ला सहसचिव असारु राजवंशी, भद्रपुर नगर उप प्रमुख राधा कार्की, नगर प्रमुख गणेश पोखरेललगायतले शुभकामना राखेका थिए
।
प्रमुख अतिथि राजवंशीले हाम्रो
समुदायका विभिन्न संस्कार परम्परा भाषा लोप हुँदै गएकाले हामीले यसको जगेर्ना गर्न
यहाँ राजवंशी सङ्ग्रालयको स्थापना गरेको बताए ।
बैशाख १ गतेदेखि सुरु हुने यो पर्व
तीन दिनसम्म विभिन्न परम्परागत विधि र संस्कारका साथ मनाइन्छ। पहिलो दिन ‘पानी
सिरुवा’ का रूपमा चिनिन्छ, जसमा
एकअर्कामा पानी छ्यापेर खुशी साटासाट गर्ने चलन छ। दोस्रो दिन ‘कादो सिरुवा’
मनाइन्छ, जहाँ माटो खेल्दै रमाइलो गरिन्छ भने
तेस्रो दिन ‘रङ सिरुवा’ मा अबिर–रङ लगाएर एकअर्कालाई शुभकामना दिने परम्परा छ।
यो पर्व प्रकृतिसँग गहिरो रूपमा
जोडिएको मानिन्छ। गाउँका देवता तथा कुलदेवताको पूजा गरेर वर्षभरि सुख, शान्ति र राम्रो उत्पादनको कामना गरिन्छ। साथै,
पानीका स्रोत संरक्षण, सरसफाइ र वातावरण संरक्षणसँग सम्बन्धित गतिविधिहरू पनि यस अवसरमा
गरिन्छन्।
परिवारभित्र जेठाजेष्ठले कान्छालाई
टाउकोमा पानी हालेर आशीर्वाद दिने चलन पनि सिरुवाको महत्वपूर्ण पक्ष हो। यसलाई
गर्मीबाट राहत र नयाँ वर्षमा शीतलता तथा समृद्धिको कामना गर्ने प्रतीकका रूपमा
लिइन्छ।
सिरुवा पर्वमा विभिन्न सांस्कृतिक
कार्यक्रम, नाचगान तथा परिकारहरूको तयारी पनि
गरिन्छ। विशेषगरी ‘सात साग’ लगायतका परम्परागत खानेकुरा बनाउने चलन छ। यसले
समुदायबीचको एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ
मजबुत बनाउने विश्वास गरिएको छ।
समग्रमा, सिरुवा पर्व पूर्वी तराईका आदिवासी समुदायको पहिचानसँग जोडिएको
महत्वपूर्ण पर्व हो, जसले नयाँ वर्षको सुरुवातलाई
उल्लासपूर्ण बनाउँदै प्रकृति, संस्कृति
र सामाजिक सम्बन्धलाई सुदृढ गर्ने सन्देश दिन्छ।