झापा । कपडा व्यवसायीले सामानको बिलविजक देखाउँदा समेत मेची भन्सार कार्यालयले सामान नियन्त्रणमा राखेर नियमविपरीत कार्य गरेको व्यापारीले आरोप लगाएका छन् ।
एक हप्ता अघि बिलविजक भएको सामान सशस्त्र प्रहरीले गोदाम छापा मारेर लाखौँ मूल्य बराबरको सामान भन्सारलाइ बुझाएपछि व्यापारीले बिल देखाउँदा समेत सामान राजस्व अनुसन्धान कार्यालय इटहरी नपठाएर मेची भन्सार कार्यालय काँकडभिट्टाले नै राखेको पाइएपछि कार्यालयको कार्यशैली सङ्कास्पद रहेको व्यापारीको ठम्याइ छ ।
बिल देखाउँदा समेत भन्सार प्रमुखले वास्ता नगरेको ए.के सप्लायर्सका सञ्चालक अरुण साहले आरोप लगाएका छन् । बिल नभएको सामान भन्सार बुझाउनु नै पर्ने हो तर, बिल देखाउँदा समेत सामान भन्सारमा नै राखेको प्रति साहले गुनासो गरेका छन् । भन्सारले सामान राजस्व अनुसन्धान नपठाएको प्रति उनी आक्रोसित बनेका छन् । भन्सार कार्यालयले प्रहरी प्रशासनको आडमा रहेर नियम विपरीत कार्य गरी व्यापारीमाथि दुःख दिएको साहको आरोप छ । घटना भएको समयमा भन्सार प्रमुख रामप्रसाद रेग्मी बिदामा रहेका र पछि कार्यालय आइसकेपछि बिल देखाउँदा सामानको मूल्य बराबरको ४८ लाख रुपैयाँ धरौटी राख्नु अनि कागजपत्र हेरौँला भन्ने ठाडो जवाफ दिएको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी प्रभातकुमार गौतमको नियत सङ्कास्पद रहेको उनले बताए । बनियानी बजारमै कपडाको खुद्रा र थोक दुवै बिक्री गर्दै आइरहेको व्यापारी साहले बताए । गोदाममा अनुज टेड्रिङ्ग एण्ड सप्लायर्स भद्रपुर र जय श्री दुर्गा भवानी स्टोर बिर्तामोडबाट खरिद गरी ल्याएको सामान राखिएको दुवै बिक्रेताको बिजबिजक देखाउँदा पनि सशस्त्रले सामान बरामद गरी ज्यादती गरेको उनको आरोप छ ।
घर भाडा लिएर राखिएको गोदामबाट सशस्त्र प्रहरीले बिलविजक भएको अनुमानित ४८ लाख मूल्य बराबरको लत्ताकपडा उठाएर लगेको थियो ।
ए.के सप्लायर्सले कचनकवल गाउँपालिका–६ बनियानीस्थित जमनाल मियाँको घर भाडा लिएर राखिएको गोदामबाट सशस्त्र प्रहरीले बिलविजक भएको लत्ता कपडा उठाएर लगेपछि मासिक लाखौ रुपैयाँ राजस्व बुझाउँने व्यापारी निरास भएका छन् । सशस्त्रका डीएसपी गौतमले सबै सामान उल्लेखित भ्याट बिलको ओसी लगेको उनको दाबी छ । भन्सारमा बिल बिनाको सामान बुझाएको साहले जानकारी पाएपछि डीएसपी गौतमले लगेको बिल कहाँ गयो भन्दै गौतममाथि उनले प्रश्न गरेका छन् ।
सोमबार(जेठ ७) गते दिउँसो करिब १ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी गौतम नेतृत्वको टोलीले सप्लायर्सका सञ्चालक साह बानियाको सामान राखिएको मियाँको घर गोदाम घेराउ गर्दै राजस्वका कर अधिकृत तिलक थापा मगर र नायव सुब्बा विशाल काफ्लेको उपस्थितिमा गोदाम खोलेर अवैध सामान भन्दै उठाएका थिए । बिलबिजक भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी लैजानु पर्नेमा सशस्त्रले मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएपछि विवाद उत्पन्न भएको छ ।
सशस्त्रले वेवारिसे अवस्थामा भेटिएको भनि सामान भन्सार बुझाएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेल वताउँछन् ।