झापा । पेट्रोलियम पदार्थ नेपालमा भन्दा भारतमा सस्तो भएका कारण पुर्वी नाकामा आयत घटेको अनुमान गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा काँकडभिट्टा नाका भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थको आयातमा कमि आएका कारण आयत घटेकाे हाे ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा काँकडभिट्टा नाका भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थको आयातमा ९७ करोड ९४ लाख १५ हजार रुपैयाँले कमि आएको छ । कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेलका अनुसार २१ अर्ब ७३ करोड ३६ लाख ३ हजार रुपैयाँ मुल्य बराबरका पेट्रोलियम पदार्थ आर्थिक वर्ष २०७९/०८० मा काँकडभिट्टा नाका भएर आयात गरिएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ को एकवर्षे अवधिमा २० अर्ब ७५ करोड ९४ लाख आठ हजार रुपैयाँको मात्र त्यस्ता पदार्थ नेपाल भित्रिएका छन् ।
भन्सार अधिकारीका अनुसार पूर्वीनाका भएर भित्रिने पेट्रोल, डिजेल, एलपी ग्यास तथा मट्टीतेलको आयात आर्थिक वर्ष २०८०/०८१ को शुरुदेखि नै घट्दो क्रममा रहेको थियो । भन्सार कार्यालयका आर्थिक वर्ष ०७९/०८० को एकवर्षको अवधिमा काँकडभिट्टा नाका भएर नौ अर्ब २४ करोड ४८ लाख ५४ हजार रुपैयाँ मुल्य बराबरको ९४ हजार ५२ किलोलिटर पेट्रोल आयात भएको छ । आर्थिक वर्ष २०८०/०८१ को सोहि अवधिमा नौ अर्ब ३७ करोड २१ लाख ९८ हजार रुपैयाँ मुल्य बराबरको ९४ हजार तीनसय ८८ किलोलिटर पेट्रोल आयात भएको भन्सारको अभिलेखले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा यो नाका भएर भित्रिने पेट्रोलियम पदार्थमध्ये पेट्रोलको मात्र आयातमा बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा आव २०८०/०८१ मा पेट्रोलको आयात १२ करोड ७३ लाख ४४ हजार रुपैयाँले बृद्धि भएको हो । तर, अन्य पेट्रोलियम पदार्थको आयात हवात्तै घटेको छ ।
अघिल्ला वर्षहरूमा वार्षिक १५ प्रतिशतको औसतदरले पेट्रोलियमको खपत बढ्ने गरेको थियो । गत आवमा भने इन्धन खपतमा खासै सुधार नआएको भन्सार अधिकारीहरुको भनाई छ । झण्डै डेढ/दुई वर्षअघि नेपाल आयाल निगम घाटामा हुँदा भने पेट्रोलियम पदार्थको खपत उच्च थियो ।
नेपालमा सस्तो
हुँदा दैनिक ५ देखि ७ सयसम्म भारतीय सवारी साधन नेपालमा तेल हाल्न आउथे,
कतिले त ठुल्ठुला ड्रम र आफ्ना सवारी साधनमा अतिरीक्त तेलको ट्याँकी जडान
गरी अबैधरुपमा भारततर्फ यस्ता बस्तु लैजान्थे । अहिले भारतमा सस्तो छ ती
सवारी साधनले नेपालमा तेल हाल्नै छाडे त्यसको असर पनि पनि हो आयात घटेकाे अनुमान छ ।
नेपालमा महंगो हुँदा यसले भारततर्फ हुने इन्धन तस्करी रोकिएको छ । अघिल्ला आवहरुमा पेट्रोल–डिजेल भारतको तुलनामा प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म सस्तो थियो । जसकारण सीमा क्षेत्रका पेट्रोलपम्पबाट ठूलो परिमाणमा इन्धन तस्करी भई भारत जाने गरेको थियो । त्यतिवेला सीमा क्षेत्रका पम्पले पेट्रोल र डिजेल दैनिक दुई ट्यांकर (४० हजार लिटर) सम्म बिक्री गरेको झापाका एक पम्प व्यवसायीले बताए । सीमातिरका पम्पले भारतका ठूला–साना सवारीलाई डिजेल बिक्री गरेर व्यापार गर्ने हो ।
मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइराला पेट्रोलियम
पदार्थको आयात परिमाण घट्नुमा भारतमा मूल्य सस्तो हुनु र नेपालमा विकास
निमार्णमा काम कम हुनु नै प्रमुख कारण भएको बताउँछन् ।
पेट्रोलियम पदार्थको माग देशभरकै अनुपातमा झापामा ५० प्रतिशत र अन्य समयको तुलनामा जिल्लामा ३५ प्रतिशतले कमि आएको छ । यसको मुख्यः कारण मुल्यमा उतार चढावनै रहेको उनकाे भनाइ छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पूर्वीनाका भएर आठ अर्ब ४९ करोड १५ लाख ५२ हजार रुपैयाँ बराबरको ७४ हजार ८८ किलोलिटर डिजेल आयात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पूर्वीनाकाबाट सात अर्ब ७२ करोड १० लाख २८ हजार रुपैयँँ मुल्य बरारको ७३ हजार ५ सय ६८ किलो लिटर डिजेल आयात भएको छ । जुन परिमाण अघिल्लो आवको तुलनामा ७७ करोड ५२ लाख चार हजार रुपैयाँले कमि हो ।
खाना पकाउने ग्यास (एलपीजी) को आयात समेत घटेको छ । कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आवमा काँकडभिट्टा नाका भएर दुई अर्ब ६० करोड ८१ लाख चार हजार रुपैयाँ मुल्य बराबरको खाना पकाउने ग्यास (एलपीजी) को आयात भएको थियो । गत आवमा भने त्यो परिमाण घटेर दुई अर्ब ५६ करोड ८५ लाख २७ हजार रुपैयाँमा सिमित रहेको छ ।
यसैगरी एटिएफ र मट्टितेलको आयात समेत घटेको छ । आर्थिक वर्ष ०७९/०८० को एकवर्षको अवधिमा काँकडभिट्टा नाका भएर एक अर्ब ११ करोड ८५ लाख आठ हजार रुपैयाँ मुल्य बराबरको नौ हजार आठसय ८४ किलो लिटर एटिएफ आयात भएकोमा गत आवमा ८३ करोड ६४ लाख ९५ हजार रुपैयाँ मुल्य बराबरको सात हजार नौसय चार किलो लिटर आयात भएको छ । मट्टितेल २७ करोड ४६ लाख ३५ हजार रुपैयाँ मुल्य बराबरको दुई हजार चार सय ४४ किलो लिटर आर्थिक वर्ष २०७९/०८० मा तथा गत आवमा २५ करोड २७ लाख रुपैयाँ मुल्य बराबरको दुई हजार चार सय १६ किलो लिटर आयात भएको छ ।
पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर
पूर्वीनाकाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घट्न थाले पछि त्यसको असर मेची भन्सार कार्यालय काँकडभिट्टाको राजस्व असुलीमा परेको छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आई सरकारको राजस्व संकलनमा प्रत्यक्ष असर परेको हो । आयात परिमाण घट्दा सरकारले प्राप्त गर्ने राजस्वसमेत कम उठ्ने गरेको भन्सार अधिकारीहरुको भनाई छ । कम राजस्व संकलन हुनुमा पेट्रोलियम पदार्थको आयातमा भएको कमीले यस क्षेत्रबाट उठ्ने राजस्वमा आएको गिरावट नै हो ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार कार्यालयले संकलन गर्ने कुल राजस्वमध्ये ६० देखि ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थले थामेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले ७० दशमलव १५ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो । कुनै बेला भन्सार विभागको राजस्व असुलीमा महत्वपूर्ण योगदान पुर्याउने कोशी प्रदेशकै मुख्यः भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालय काँकडभिट्टा पछिल्लो समयमा राजस्व असुलीमा पछि परेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयको राजस्व असुली ७८ दशमल ४० प्रतिशतमात्र छ । पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयात न्यून हुनु , सुपारी आयातमा कोटा प्रणाली लागू हुनु र आसामाबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाई छ ।