झापा । स्रोत नखुलेको भारतीय २ लाख ४ हजार ५ सय रूपैयाँ नगद र भारतीय कारसहित तीनजना भारतीय नागरिकलाइ सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कार चालक भारत पश्चिम बंगाल प्रान्त जिल्ला जलपाइगुरी कालपिनी ग्राम पञ्चायत वडा नम्बर ५ बुकिङ्बारी बस्ने ३४ बर्षिय दिपक प्रधान,भारतको विहार प्रान्त जिल्ला किशनगञ्ज तात्पुवा ग्रामपञ्चायत वडा नं. ७ बेलायतिबारी बस्ने ३२ बर्षिय मोहमद शमिम अख्तर र सोही स्थान वडा नं. ८ का ३६ बर्षिय परेश कुमार सिंह रहेको सशस्त्र प्रहरी बल गण नं. २ झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरण अनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको टोलीले आइतबार अपरान्ह् साढे ३ बजे जिरो पोइन्टबाट केचनातर्फ जादै गरेको डब्लू बी ७४ बिएच १६४३ नम्बरको भारतीय कार कचनकवल ४ खुट्टामनी स्थानमा चेकजाँच गर्दा शमिम अख्तरको साथबाट ५०० दरका नोट ३०० थान र सिंहको साथबाट पनि ५ सय दरका नोट १०९ थान गरी २ लाख ४ हजार ५०० रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बल गण न २ झापाका डिएसपी एवम प्रवक्ता सुमन पोखरेलले जानकारी दिए ।
पक्राउपछि भारतीय कारको ५० लाख मूल्य कायमगरी कारसहित व्यक्ति ,रुपैयाँ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरी पठाइएको उनले जानकारी दिए ।