झापा । भोटेकोशी, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको १३औँ दिनको पुण्य तिथिको अवसरमा झापा सहित विभिन्न जिल्लाहरूमा गीता पाठ, पारायण,दिप प्रज्वलन तथा शोक सभा सम्पन्न गरिएको छ ।
श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल, केन्द्रीय कार्यालय झापाको आयोजनामा झापाको बिर्तामोड , दमक लगायतका जिल्लामा विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो । प्राकृतिक विपत्तिमा अकालमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्ति तथा घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामनासहित सामूहिक रूपमा गीता पाठ, पारायण,दिप प्रज्वलन तथा शोक सभा सम्पन्न गरिएको समितिका केन्द्रीय अध्यक्ष राम प्रसाद ओझाले जानकारी दिए ।
श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल झापा अध्यक्ष मोहन घिमिरेको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा साङगवेद संस्कृत मावि बिर्तामोड चारपानेका प्राचार्य छन्दुराम भण्डारीले सम्बोधन गरेका थिए । झापा ,मोरङ, धनकुटा लगायतका जिल्लाहरुमा कार्यक्रम आयोजना गरिएको थियो ।
बिर्तामोडमा मात्र दुईसय जनाभन्दा बढी वटुक, गुरु,विभिन्न आमासमूहले सामूहिक गीता पाठ गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा गुरुकुलम,विभिन्न धार्मिक मठमन्दीर गरी तेह्रवटा संस्थाहरु सहभागि भएका थिए ।
विपत्तिका समयमा मानवीय संवेदना र सनातन संस्कारलाई आत्मसाथ गर्दै आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समाजमा धार्मिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको सहभागी गुरुहरूले बताएका छन् ।
साेही कार्यक्रममा संस्थाले एक लाख एक हजार रुपैयाँ रकम प्रधानमन्त्री राहत कोषमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत हस्तान्तरण गरेकाे थियो ।
गीतापाठ पश्चात साँझमा मुक्ती चोकमा नेपालको नक्सा अङकित एक हजार आठ वटा दिप प्रज्जवलन गरिएको समितिका केन्द्रीय महासचिव खगेन्द्रप्रसाद निरौलाले जानकारी दिए ।