झापा । चिया उत्पादक र चिया श्रमिकबीच सहमति भएको छ । चिया बगानमा क्रियाशील ट्रेड युनियन र नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच साेमबार भएकाे छलफलबाट सहमति भएको हो ।
चिया बगानमा कार्यरत श्रमिकहरुले हाल खाइपाइ
आएको न्यूनतम् पारिश्रमिकमा आधारभूततर्फ रु.३९, महंगी भत्तातर्फ रु.२६ थप
गरी दैनिक आधारभूत पारिश्रमिक रु.३६२ , महंगी भत्ता रु.२०३ गरी जम्मा रु.
५६५ ,मासिकतर्फ आधारभूततर्फ ११६२ , महंगी भत्ता ६४४ थप गरी आधारभूत
पारिश्रमिक रु. १००९६ ,महंगी भत्ता रु ५६०३ गरी जम्मा रु.१५६९९ पुर्याउने ,
चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक र बगानका सरदार, चौकीदारको समेत
दैनिक भत्ता रु.७० निर्धारण गरिएको छ । जुन सहमति साउन १ गतेदेखि लागु
हुनेगरी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको
न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरिने भएको नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताए । मिति नै यकिन गरिसकेकोले सहमती कार्यान्वयन हुनेमा विश्वस्त रहेको उनले जानकारी दिए ।
सवै प्रतिष्ठानहरुमा प्रतिष्ठानलाई आवश्यक पर्ने कामदार संख्या यकिन गरी
श्रम ऐन २०७४ को दफा ११ अनुसार २०८२ भाद्र मसान्तसम्ममा नियमित र समयगत
रोजगार सम्झौता गरी काममा लगाउने, नियमित रोजगारीमा रहेका कामदारहरुलाई
योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सूचीकृत गर्ने प्रकृया सुरु गरी २०८२
असोज मसान्तसम्ममा सूचीकृत गरी सक्नेलगायतका सहमति भएको उनले जनाए ।
चिया बगानमा क्रियाशील ट्रेड युनियनहरुले गत असार ६ गते ६ बुँदे माग राखेका थिए । तीस दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि झापाका चिया श्रमिकहरुले साउन १८ गतेदेखि चिया बगान बन्द गरेका थिए ।
झापामा नियमित र समयगत श्रमिक गरी करिब १८ हजार कार्यरत रहेका छन् भने अनुमामनित १५ हजार विगाह चिया वगान रहेकाे नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय महासचिव शुक्रबहादुर दाहालले जानकारी दिए ।