सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ वटा परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजनाको अन्तिम नाम सिफारिस गरेको हो । सिफारिसमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा २५ लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा वितरण गरिने छ ।
सिफारिसमा परेका परियोजनाले सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैङ्कमार्फत चार/पाँच दिनभित्रमा स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने छन् । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार यस वर्ष कर्जा प्राप्त गर्न पाँच हजार १५८ परियोजनाको प्रस्ताव परेको थियो । त्यसमध्ये प्रारम्भिक सूचीमा परेका एक हजार ३१४ परियोजनामध्ये तोकिएका मापदण्ड पूरा गरेका ६६१ वटा परियोजनालाई कर्जाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।
सरकारले नवीनतम उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा सहभागी गराउने उद्देश्यले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई समावेश गरेको छ ।