झापा । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड विरुद्ध कनकाईका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीमाथि बैंकको सुरुङा शाखाले ज्यादती गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कनकाईका होटल व्यवसायी प्रकाश श्रेष्ठको २ करोडको जग्गा लिलाम गर्ने सूचना प्रकाशन गरेसँगै अन्य व्यवसायीहरु समेत आन्दोलनमा उत्रिएका छन् । आइतवार बैंकका प्रतिनिधिहरुसँग छलफल गर्न समय तोकिएको थियो, स्थानीय भन्छन् – बैंकका प्रतिनिधिहरु नआएपछि व्यवसायीहरु आक्रोसित भएका हुन् ।
होटल व्यवसायी श्रेष्ठले ०७६-७७ मा २२ लाख कर्जा लिएको जानकारी दिए । उनका अनुसार २२ लाख कर्जाको १५ लाख ७५ हजार साँवा बुझाइसकिएको छ । त्यसबाहेक ब्याज पनि बुझाइएको जानकारी दिए । १४.५ प्रतिशत व्याजमा उनले लिएको कर्जा तिर्ने समय हुँदाहुँदै लिलामी प्रक्रिया अघि बढाएकोमा आपत्ति प्रकट गरेका छन् ।
बैशाख २६ गते उनले ३ लाख रुपैयाँ बैंकमा बुझाएको जानकारी दिए । बाँकी ३ लाख बुझाउने सहमति गरेकै थिए, उनले भने – त्यै पनि बैंकले मलाई कुनै जानकारी नदिई जेठ २ गते सूचना प्रकाशन गरिदियो । सूचना प्रकाशनपछि ऋणी श्रेष्ठलाई ३५ दिनभित्र बैंकमा सम्पर्क राखी बैंकको सम्पूर्ण तिर्नुपर्ने रकम तिरी बुझाई आफ्नो सम्पतिको संरक्षण गर्न समेत यसै सूचित गरिएको छ ।
तिर्न बाँकी ३ लाख मात्रै बाँकी भएको अवस्थामा बैंकले लिलामीको सूचना
प्रकाशन गरेर मेरो चरित्र हत्या गर्ने काम गरेको छ, श्रेष्ठले भने – ३ लाख
तिर्न बाँकी हुँदा २ करोडको सम्पत्ति लिलाम गर्ने षडयन्त्र भयो ।
व्यवसायीमाथि बैंकले अन्याय गर्न मिल्दैन, उनले थपे ।
गत शुक्रवार स्थानीय व्यवसायीहरुसहित बसेको छलफलले आइतवार बैंकका
प्रतिनिधिहरु समेतको उपस्थितिमा समाधान खोज्ने सहमति भएको थियो । तर, सहमति
बमोजिम प्रतिनिधिहरु नआएपछि व्यवसायीहरु आक्रोसित भएका हुन् ।
यता, बैङ्कका शाखा प्रमुख रुविराज रिमालले विधि, प्रक्रिया बमोजिम नै सूचना प्रकाशित भएको जानकारी दिए । उनका अनुसार ऋणीले लिखित सहमति अनुसार शत प्रतिशत रकम नबुझाएपछि सूचना प्रकाशन गरिएको हो । उहाँलाई ३५ दिनको समय दिइएको थियो, शाखा प्रमुख रिमालले भने, त्यो समयभित्र पनि आधा मात्रै रकम बुझाउनु भएको थियो । त्यसैले बैंक प्रक्रियामा अघि बढेको हो ।
कनकाईमा यस विषयले व्यवसायीहरु आक्रोसित भएपछि बैंकका केन्द्रीय प्रतिनिधिहरु, वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधिहरुबीच सोमवार छलफलको तयारी गरिएको छ ।