झापा/ सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको बैंक मौज्दात करिब १ करोड ४६ लाख रुपैयाँ रहेको छ। उनको नाममा काठमाडौंमा ५ आना जग्गा तथा धनुषा र महोत्तरीमा समेत जग्गा रहेको उल्लेख गरिएको छ भने श्रीमतीको नाममा करिब १९० तोला सुन–गहना रहेको देखिन्छ। प्रधानमन्त्री शाहले आफ्नो आम्दानीको स्रोत सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक, युट्युब र टिकटकलगायतलाई देखाएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेको बैंक मौज्दात करिब १ करोड ९० लाख रुपैयाँ रहेको छ। काठमाडौं, काभ्रे, धुलिखेल र बन्दीपुरमा घर-जग्गा रहेको विवरणमा उल्लेख छ। उनीसँग करिब ४५ तोला सुन रहेको र विभिन्न बैंक तथा जलविद्युत् कम्पनीहरूमा सेयर लगानी रहेको देखिन्छ। साथै उनले करिब ३ करोड ५५ लाख रुपैयाँ ऋणसमेत रहेको विवरणमा उल्लेख गरेका छन्।
गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा गरी करिब २६० रोपनी जग्गा रहेको छ। उनीसँग करिब ८९ तोला सुन र उल्लेख्य परिमाणमा चाँदीसमेत रहेको विवरण सार्वजनिक गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको काठमाडौंको टोखामा घर रहेको छ भने अन्य जिल्लामा पनि जग्गा रहेको उल्लेख गरिएको छ। उनीसँग २२ तोला सुन, २५ तोला चाँदी र करिब १० लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख छ।
अन्य मन्त्रीहरूमा सोविता गौतमको काठमाडौं र चितवनमा घर–जग्गा रहेको छ भने करिब १५ तोला सुन तथा हीराका गहना रहेको देखिन्छ। त्यस्तै, बिराज भक्त श्रेष्ठको काठमाडौंमा घर रहेको छ भने उनीसँग १५ तोला सुन, ५० तोला चाँदी र करिब ५० लाख रुपैयाँभन्दा बढी बैंक बचत रहेको विवरणमा उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक गरेको विवरणले अधिकांश मन्त्रीहरूको सम्पत्ति जग्गा–जमिन, सुन–गहना र बैंक बचतमा केन्द्रित रहेको देखाएको छ भने केहीले सेयर लगानी तथा वैकल्पिक आम्दानीका स्रोतहरू पनि खुलाएका छन्।