झापा । झापामा एकैदिन शिवसताक्षी र बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा एक किशोरीको मृत्यु
भएको हो । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– ५ निवासी १८ वर्षीया जेसिका
सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद
रिजालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी
नगरपालिका– १० स्थित कनकाई पुलमा बुधवार साँझ ७ बजेको समयमा पश्चिमबाट
पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साईकलयात्रीलाई
ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग
ठोक्किएको थियो । दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक
भद्रपुर नगरपालिका– ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा
चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट
रगत बग्दा गम्भीर घाइते भएकी थिइन् । घाइते दुवै जनालाई बिर्तासिटी
अस्पताल बिर्तामोड लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राति
सवा ८ बजे मृत्यु भएको डीएसपी रिजालले बताए । मृतक जेसिकाले भर्खरै
महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीबाट कक्षा १२ को परीक्षा उत्तीर्ण
गरेकी थिइन् । जापान जाने तयारीमा रहेकी उनी आफ्ना डकुमेन्ट पुर्याएर
विराटनगरबाट फर्किँदा दुर्घटनामा परेको बताइएको छ ।
त्यस्तै को ३१ प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–१ निवासी
४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि सवार इलाम जिल्ला चुलाचुली
नगरपालिका– ४ निवासी २९ वर्षीय निश्चल चेम्जोङ घाइते भएका छन् । घाइते दुवै
जनाको टाउकोसहित हातखुट्टामा चोट लागेको र उनीहरूको बीएण्डसी अस्पताल
बिर्तामोडमा उपचार भइरहेको छ । साइकलयात्री अर्जुनधारा नगरपालिका– ५ निवासी
६३ वर्षीय गंगा तामाङको दायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय
मेडिकलमा उपचार गरी घर फर्किसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका
दुवै मोटरसाइकललाई अस्थायी प्रहरी चौकी माईधारले नियन्त्रणमा लिएको छ ।
यता बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल ठोक्किँदा एक
जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका– ५ निवासी २६ वर्षीय
सागर घिमिरे रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तगत बिर्तामोड ३ स्थित
पुरानो यातायात कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प
५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४०
नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ५५६८
नम्बरको मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी
अस्पताल बिर्तामोड पठाइएको थियो । उनलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले
मृतक घोषित गरेका थिए । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी
हुन् ।
५१४० नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– १० निवासी २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपानेसमेत गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।