तेह्रथुमका ढाकाका कपडाले पाएनन् बजार
२७ मंगशिर २०८०, बुधवार
झापा । म्याङलुङ
बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको
पालनपोषण गरिरहेकी छन् । आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको
पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उनको समय हरेक दिन बिहान ५ बजेदेखि राति
अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।
एउटा
सारी बुनिसक्न उनलाई सातदेखि १० दिन लाग्छ । बाक्लो बुट्टा भएको सारी
बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उनको
भनाइ छ । बजारमा एउटा सारीको मूल्य छ हजारदेखि १३ हजार रुपैयाँसम्म पर्दछ ।
सामान्य लेखपढ गरेकी लिम्बूले ढाकाको सारी बुनेरै मासिक २२ हजार रुपैयाँ
नाफा निकाल्ने गरेको बताइन् ।
'सानो हुँदा पढिएन, अहिले यही सारी बुन्यो यसैले आमा छोराको गुजारा चलिरहेको छ', लिम्बूले भनिन् ।
उनीजस्तै
सोही टोलमा डेरा गरी बस्ने ३८ वर्षीया एकल महिला कुमारी राई पनि ढाकाको
सारी बुनेरै गुजारा चलाउँदै आएकी छन् । सात वर्षयता श्रीमान् हराएपछि
आठवर्षे छोरोको अभिभारा एक्लै उठाएकी उनले ढाकाको सारी बुनेरै छोरोको पढाइ
खर्च पुर्याएकी छन् । डेरा भाडा तिरी मासिक खर्च गरी मासिक रुपमा पाँचदेखि
१० हजार रुपैयाँसम्म बचत गर्ने गरेको उनको भनाइ छ ।
सङ्खुवासभा
मादी मूलखर्ककी उनले म्याङलुङ आएर नवीन विकास ढाका कपडा उद्योगमा ढाका
बुन्न सिकेकी थिइन् । सुरुमा ढाकाको गलबन्दी ज्यालामा बुन्न सुरु गरिन् ।
त्यतिबेला आफूसँग पैसा नभएकाले ज्यालामै बन्नु परेको उनको भनाइ छ । 'पछि
तानका सामानहरु किनेर ल्याएपछि कोठामा आफैँ बुन्न थालेँ । आफैँले बुन्दा
धेरै फाइदा हुने रहेछ', उनले भनिन् ।
मेन्छ्यायेम
गाउँपालिका–२ स्थायी घर भई म्याङलुङ क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत
१९ वर्षीया सन्ध्या लिम्बू पनि बिहान क्याम्पस गएर दिउँसोको समयमा ढाकाको
गलबन्दी बुन्ने गर्छन् । गलबन्दी बुन्ने तान सानो हुने भएकाले कोठाको एक
कुनामा सजिलै अट्छ ।
एक
दिनमा एउटा गलबन्दी तयार हुने र यसमा ८०-९० रुपैयाँको धागो लाग्ने उनी
बताउँछिन् । उनका अनुसार बजारमा एउटा गलबन्दी दुई सय रुपैयाँमा बिक्री
हुन्छ । शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी उनले पढेर बचेको समयमा
गलबन्दी बुन्ने गरेको र आफूलाई खर्च चलाउन घरमा पैसा माग्नु नपरेको
बताउँछिन् ।
उनीजस्तै
अर्की सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत सोनी लिम्बू पनि
स्थानीय रेडियो मेन्छ्यायेममा प्राविधिकको काम गर्दै ढाकाको कोट, मेख्लीको
कपडा बुन्ने गर्छिन । प्रतिमिटर आठ सय रुपैयाँको दरले कोटको कपडा बिक्री
गर्ने गरेको र त्यसले आफूलाई खर्च पुगेको उनको भनाइ छ । म्याङलुङबजार र
आसपासका गाउँका अधिकांशको आयआर्जनको माध्यम बनेको छ ढाका कपडा बुनाइ ।
ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको म्याङलुङ बजारका अधिकांश घर, बजार
छेउका तम्फुला, शाब्ला, तुम्बाहाङ्फे गाउँका प्रत्येक घरहरुका कोठा,
सिकुवा, बार्दली, आँगनहरुमा ढाकाका तानहरु देखिन्छन् ।
पेसाकै
रुपमा होस् या अन्य काम गरेर फुर्सदको समयमा यहाँका अधिकांश महिलाले
ढाकाको टाई, टोपी, गलबन्दी, कुर्ता सुरुवाल, लुङ्गी, सारी बुनेर बजारमा
बिक्री गर्ने गर्छन् ।
म्याङलुङ
बजारको टुँडिखेलमा यसै वर्ष ढाका बुन्दै गरेको महिलाको स्तम्भ निर्माण
गरिएको छ । तेह्रथुमका ढाका बुन्नेहरुको सम्मानस्वरुप र तेह्रथुमको ढाकाको
पहिचान झल्काउने उद्देश्यले प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको १० लाख
रुपैयाँमा स्तम्भ निर्माण गरेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताए ।
तेह्रथुम
उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजीव ढुङ्गानाका अनुसार म्याङलुङबाट
वार्षिक एक करोड मूल्य बढीको ढाकाको कपडा जिल्लाबाहिर निर्यात हुने गर्दछ ।
तेह्रथुमबाट अलैँची, अदुवा र अम्लिसोपछि सबैभन्दा बढी ढाका कपडा जिल्ला
बाहिर निर्यात हुने गरेको अध्यक्ष ढुंगानाको भनाइ छ । म्याङलुङ नगरपालिका
रोजगार संयोजक नवीन खतिवडाका अनुसार नगरपालिकामा अहिले उद्योग र निजी तानमा
गरी झण्डै पाँच हजार जनाले ढाका बुन्ने काम गरिरहेका छन् ।
घरेलु
तथा साना उद्योग कार्यालयका प्रमुख प्रदीप पौडेलका अनुसार कार्यालयमा
अहिले एक सय ५५ वटा ढाका कपडा उद्योग दर्ता भएका छन् भने जिल्लामा नौ ओटा
ढाका कपडाका पसल छन् । ढाकाको उत्पादन धेरै हुँदा बजारको समस्या रहेको
स्थानीय व्यवसायी भुवन नारायण श्रेष्ठ बताउँछन् । उनी भन्छन्, 'पहिला
छिमेकी जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, भोजपुर, इलामलगायत राजधानी
काठमाडौँमा ढाकाका धेरै कपडा निर्यात हुन्थ्यो, अहिले ती ठाउँमा पनि
उत्पादन हुन थालेपछि माग कम भएको छ ।'
सरकारले
प्रत्येक कार्यालय र विद्यालयमा एक दिन मात्रै भए पनि ढाका कपडाको पोशाक
अनिवार्य गर्ने हो भने बजारको समस्या नहुने उनको भनाइ छ ।
म्याङलुङमा
ढाकाको कपडा पसल सञ्चालन गर्दै आएकी उज्ज्वलता सुब्बा दैनिक २०-२५ हजार
रुपैयाँको ढाका कपडा बिक्री हुने गरेको बताउँछिन् । उनका अनुसार
म्याङलुङबजार घुम्न आउने पर्यटक, पाहुनाहरु हुन् वा जिल्लाका कर्मचारी
जिल्लाबाहिर जाँदा कोसेलीका रुपमा ढाका कपडा किनेर लैजाने गर्दछन् । थोरै
लगानीमा गर्न सकिने यस पेसाले स्थानीयस्तरमा रोजगारीको सिर्जना गरेको भएपनि
बजारको अभावमा विस्तारै व्यवसायीहरु निराश देखिन्छन् । गाउँगाउँबाट
स्थानीयस्तरमा हातले बुनेको ढाका कपडालाई विदेशी कपडाले प्रत्यक्ष प्रभाव
पारेको छ ।