झापा । झापा पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९÷०८० को तुलनामा गत आर्थिक वर्ष २०८०÷ ०८१ मा छुर्पीको निर्यात भने उच्च वृद्धि भएको पाइएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को एकवर्षको अवधिमा काँकडभिट्टा नाका भएर एक अर्ब ४३ करोड ८२ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको ७ लाख ६३ हजार पाँचसय छ केजी छुर्पी निर्यात भएको कार्यालयले जनाएको छ ।
यसअघिको आर्थिक वर्षमा विदेश छुर्पी निर्यात वापत कार्यालयले एक अर्ब १० करोड ८१ लाख एक हजार रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा पाँच लाख ८७ हजार नौ सय २० किलो छुर्पी निर्यात भएको सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । पछिल्लो तथ्याङ्क अनुसार विश्वका फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत १९ वटा देशमा नेपाली छुर्पी पुगेको उनले बताए । नेपाली छुर्पीको मुख्यः आयतकर्ता अमेरिका र क्यानडा रहेको उनको भनाई छ । अन्य देशको तुलनामा यी देशमा सवैभन्दा बढी छुर्पी निर्यात हुने गरेको उनले जानकारी दिए । सबैभन्दा कम छुर्पी इजरायल पुग्ने गरेको र त्यहाँ रहेका नेपालीले कोसेलीको रूपमा लैजाने गरेको अनुमान छ । हङकङ, इजरायल, जापान, कोरिया, मलेसिया, सिंगापुर, ताइवान, थाइल्यान्ड, युएई, भारत, क्यानडा, अमेरिका, जर्मन, बेलायत र रसियालगायतका देशमा कुकुरलाई खुवाउन थालिएपछि नेपालमा उत्पादित छुुर्पीको माग बढेसँगै निर्यात पनि बढेको उनले बताए ।
छुर्पी उत्पादकका अनुसार कुकुर र मान्छेले खानेमा केही फरक छ । कुकुरले खानेमा घिउको मात्रा हुनु हुँदैन भने मान्छेले खानेमा केही भए पनि हुन्छ । तर छुर्पी बनाउने किसानले घिउको मात्रा भने पूरै निकालेर बनाउने गरेको बताईएको छ । चौंरी वा गाई दुहेपछि त्यसलाई चिसो पानी वा चिस्यान गर्ने ठाउँमा राखिन्छ । जमेपछि त्यसको घिउको मात्रा निकालेर त्यसपछि दूधलाई फटाएर छुर्पी बनाइन्छ । यसलाई अँगेनाको भारमा आगोको रापले सेकाउने गरिएको इलामका छुर्पी व्यवसायी डोमा तामाङको भनाई छ । छुर्पीको मूल्य भने ठाउँ अनुसार फरक रहेको उनले बताए ।