मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |
मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |


हात्तीको आक्रमणबाट ३४५ जनाको मृत्यु

देश प्रदेश डेस्क 5094+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

झापा   हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् ।पछिल्लो समय खासगरी पूर्वी तराई क्षेत्रमा विविध कारणले मानव–हात्ती द्वन्द्व बढ्दो छ । हात्ती संरक्षण गर्ने उद्देश्यका साथ अगस्त १२ तारिखमा विश्वभर हात्ती दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी हात्ती दिवस मनाइने गरेको छ ।

हात्तीको बासस्थानको अतिक्रमणका कारण हात्ती मानव बस्तीमा पस्दा मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन् । त्यस्तै बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानवबस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी–सिकारी मुख्य चुनौती देखिएका छन् ।
सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ । हात्तीको क्षतिबाट खासगरी वन जङ्गल नजिक बस्ने गरिब समुदाय बढी प्रभावित हुने गरेका छन् ।
न्यूनीकरणका लागि वन तथा वातावरण मन्त्रालयले प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न लागेको जनाएको छ । त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरिसकेको मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले बताए। साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिने उनको भनाइ छ ।
“मन्त्रालयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हालसम्म क्षति पुर्याउने हात्तीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, फेन्सिङ तारबार, मृतकका परिवारलाई रोजगार तथा  छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको छ”, प्रवक्ता वाग्लेकाे भनाइ छ ।
यसको समाधानका लागि शिक्षा र चेतनाका साथै स्थानीय जनताले वैकल्पिक खेतीका बारेमा समेत सोच्नुपर्नेमा विज्ञहरुको सुझाव छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव एवं हात्तीविज्ञ डा नरेश सुवेदीले प्रभावित क्षेत्रका मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
हात्ती द्वन्द्व भएका क्षेत्रमा हात्तीप्रति सकारात्मक व्यवहार बनाउन सके दुई तिहाइ द्वन्द्व न्यूनीकरण हुने उल्लेख  गरे । यस्तो द्वन्द्व घटाउन हात्ती हिँड्ने कोरिडोर संरक्षण गर्नु आवश्यक छ । हात्तीको द्वन्द्व हुने स्थानमा तत्काल सम्बोधन गर्ने संयन्त्र गठन गर्नु पनि आवश्यक देखिएकाे उनकाे भनाइ छ । सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने उनकाे धारणा छ ।
पछिल्लो तथ्याङ्कनुसार नेपालमा २३० जङ्गली हात्ती र सरकारी तथा निजी रुपमा पालिएका १८० हात्ती रहेका छन् । यस्तै, भारतबाट ‘सिजन’मा थप जङ्गली हात्ती आउने र केही समय बसेर जाने गरेका छन् ।
विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले भारतीय सीमाबाट आउने हात्तीका कारण पनि क्षति हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा भारतसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिए। हात्तीको आक्रमणबाट बच्न पछिल्लो समय सुरु गरिएको फेन्सिङ तार प्रविधि प्रभावकारी बनेको उल्लेख गर्दै उनले  “स्थलमा खटिने कर्मचारीलाई स्रोत र सवारीसाधनले चुस्त बनाउनु पर्ने बताए । हात्तीको रुट पहिचान गरी सो क्षेत्रमा हुने मानवीय क्षति कम गर्न सकिने उनकाे भनाइ छ ।
मानव–हात्ती द्वन्द्वबाट हुने क्षतिको अवस्था हेर्दा संरक्षण क्षेत्रभित्र र बाहिर बराबरी देखिन्छ भने मुख्य भित्री क्षेत्रमा खासै क्षति भएको देखिँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले मानव–हात्ती नेपालका पूर्वी तराई क्षेत्रमा भाले हात्तीको सङ्ख्या धेरै भएकाले तुलनात्मक बढी क्षति हुने गरेको बताए । बर्दिया क्षेत्रमा पोथी हात्तीको सङ्ख्या धेरै भएकाले तुलनात्मक कम क्षति हुने गरेको उनकाे भनाइ थियो ।
नेपालमा जङ्गली हात्तीका लागि उपयुक्त आवास क्षेत्र १२ हजार वर्ग किलोमिटर (तराईको उत्तरी भाग, भवर, चुरे क्षेत्रको केही भाग र भित्री तराईको केही भाग) रहेको छ । यसअन्तर्गत ६ संरक्षण क्षेत्र (पाँच राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष) रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले जानकारी दिए । तराईमा २३० जङ्गली हात्तीले नेपालको कुल जनसङ्ख्याको ५२ प्रतिशत (करिब एक करोड ५० लाख) मानिसहरूसँग एउटै आवास क्षेत्र साझा गर्छन् ।
 बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोक रामका अनुसार तराईका रूपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइन्छ । “परापूर्वकालदेखि नै हात्तीको ओहोरदोहर गर्ने हात्तीमार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गरेको छ । साथै मानिस र हात्तीले एउटै बासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यो समस्या देखिएको हो”, डा रामले भने । बासस्थान विनाश हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको उनको भनाइ छ ।
विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भूटानलगायत १३ राष्ट्रमा पाइन्छन् । तिनको सङ्ख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ । विश्व संरक्षण सङ्घले हात्तीलाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार