झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको पहिलो जिल्ला अधिवेशन शनिबार बिर्तामोडमा सुरु भएको छ ।
बिर्तामोड–३ स्थित चिरायु पार्टी प्यालेसको सभाहलमा सुरु भएकाे अधिवेशन झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको सभापतित्वमा भएको हाे ।
कार्यक्रममा झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य निशा डाँगीकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका जिल्ला सचिव शम्भुप्रसाद ढकाल (शम्भु सुस्केरा) सहित प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा करिब दुई हजार जनाको सहभागिता रहेको थियो भने नेतृत्व चयनका लागि हुने मतदान प्रक्रियामा पालिका प्रतिनिधि, विभिन्न विभागका प्रतिनिधि तथा निवर्तमान जिल्ला समितिसहित करिब ८ सय प्रतिनिधि सहभागी भएका छन्।
अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य निशा डाँगीले नयाँ बजेट सार्वजनिक भएपछि सरकारले शिक्षा, स्वास्थ्य र करका विषयमा गरेका व्यवस्थालाई लिएर विभिन्न भ्रम र अफवाह फैलाउने प्रयास भइरहेको बताइन् ।
उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र दीर्घकालीन नीति निर्माणको चरणमा रहेको दाबी गर्दै सरकारका कामको मूल्यांकन तथ्यका आधारमा गर्न आग्रह गरिन्।
“सरकारले थालेका सुधारका प्रयासलाई तोडमोड गरेर प्रस्तुत गर्ने काम भइरहेको छ,” उनले भनिन्, “जनताले वास्तविकता बुझ्न आवश्यक छ। अहिलेको सरकार सुशासन र प्रणाली सुधारमा केन्द्रित छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका समानुपातिक सांसद रमेश प्रसाईंले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर बढाइएको भन्ने आरोप तथ्यहीन रहेको बताए ।
उनले सरकारले शिक्षा र स्वास्थ्यको आधारभूत सेवामा नभई ती क्षेत्रको नाममा हुने व्यावसायिक कारोबारमा करको दायरा विस्तार गरेको जिकिर गरे।
“सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाएको होइन, शिक्षा र स्वास्थ्यका नाममा हुने व्यापारिक गतिविधिलाई करको दायरामा ल्याएको हो,” प्रसाईंले भने।
उनले पछिल्लो समय प्रधानमन्त्रीको विषयलाई लिएर भइरहेका राजनीतिक टिप्पणीप्रति संकेत गर्दै सरकार आफ्नो कार्यदिशाबाट विचलित नहुने दाबीसमेत गरे।
पार्टीको पहिलो अधिवेशनमा सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदमा लक्ष्मण बस्नेत, अर्जुनकुमार मैनाली र ओम भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । तीनै जना पार्टीको संगठन विस्तारमा सक्रिय रूपमा संलग्न रहँदै आएका नेताका रूपमा चिनिन्छन् ।
यता उपसभापति पदका लागि देवी संग्रौला, पुष्पलाल ढकाल, बलराम कार्की, लीला खड्का र शान्ता तामाङ चुनावी मैदानमा उत्रिएका छन् ।
सचिव पदका लागि रविन खड्का र विराध सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ भने सहसचिव पदमा भीमबहादुर कुँवर, राजेन्द्र खनाल र लक्ष्मीप्रसाद रेग्मी उम्मेदवार बनेका छन्।
जातीय आधारतर्फको सदस्य पदमा सन्तोष मेचे, राजनारायण राजवंशी र सराब शेख मियाँले उम्मेदवारी दिएका छन्। यस्तै खुला तथा महिला सदस्यतर्फ नन्दकुमार चुडाल, पवन गिरी, शान्तिमाया न्यौपाने, प्रेमप्रसाद खरेल, नरेन्द्र राई, नरेन्द्र शिवाकोटी, भेषराज ओली, मुना सापकोटा, चेतकुमार खनाल, डिल्लीराम न्यौपाने र दिवाकर मैनालीसहित ११ जनाको उम्मेदवारी परेको छ।
रास्वपाले स्थापना भएको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा उल्लेख्य प्रभाव स्थापित गरे पनि जिल्लास्तरमा संगठनलाई संस्थागत बनाउने चुनौती अझै बाँकी रहेको विश्लेषण भइरहेका बेला झापाको यो अधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
पछिल्लाे अवस्थाका बारेमा भद्रपुर नगर र्याटका उप-संयाेजक सुशान्त नेपालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा सकिएकाे र आजै मत गणना गरिने जानकारी दिएका छन् ।
झापा रास्वपाको प्रभावशाली जिल्ला मानिन्छ । २०७९ को निर्वाचनपछि जिल्लामा पार्टीको जनाधार विस्तार भएको दाबी गर्दै आएको रास्वपाले अब निर्वाचित नेतृत्वमार्फत संगठनलाई वडा तहसम्म सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले संगठन विस्तार, पार्टीको आन्तरिक व्यवस्थापन तथा आगामी राजनीतिक अभियानको नेतृत्व गर्नेछ । त्यसैले पहिलो जिल्ला अधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई झापामा रास्वपाको संगठनात्मक भविष्य तय गर्ने महत्वपूर्ण राजनीतिक अभ्यासका रूपमा हेरिएको छ ।