झापा / लगातारको वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह पार गरेको छ। चितवनको देवघाटस्थित जलमापन केन्द्रमा शनिबार बिहान ६ः५० बजेसम्म नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नारायणीसँगै बागलुङको वामीटक्सारस्थित दरमखोलामा पनि जलसतह सतर्कता तह पार गरेको छ। नदीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने गरेका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान, जोखिमपूर्ण गतिविधि नगर्न तथा सम्भावित बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ जान महाशाखाले अनुरोध गरेको छ। विशेषगरी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन भनिएको छ।
यसैबीच, दिउँसोसम्म नारायणीको जलसतह थप बढेको छ। पछिल्लो विवरणअनुसार देवघाटमा पानीको सतह ८.३० मिटर पुगेको जनाइएको छ भने नदीको बहाव बढ्दो क्रममा रहेको छ।
नारायणीमा पानीको सतह बढ्दै गएपछि चितवन तथा नवलपरासी पूर्वका नदी तटीय क्षेत्रमा सम्भावित डुबानप्रति स्थानीय प्रशासन र सुरक्षा निकायले समेत निगरानी बढाएका छन्। पछिल्लो जलसतह र आधिकारिक बाढी सूचनाअनुसार जोखिम मूल्याङ्कन गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।