झापा । पछिल्लो समय बालिकामाथि जघन्य अपराध एवम बलात्कारपछि हत्या गर्ने घटना बढ्नथालेपछि भद्रपुर मारवाडी महिला मञ्चले विद्यालय स्तरमा आधारभूत जनचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
मञ्चले मङ्गलबार भद्रपुर ९ स्थित श्री पशुपतिनाथ आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाको उपस्थितिमा सही र गलत छुवाइ (गुड टच,ब्याड टच)अभियान सञ्चालन गरेको हो ।
बालबालिकालाई जिल्ला प्रहरी कार्यालय झापाकी महिला तथा बालबालिका शाखाकी असइ जानुका खड्काले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बालबालिकाको आधाभूत जानकारी सम्बन्धी सचेतनामुलक प्रस्तुती दिएकी थिइन् । खड्काले बालबालिकालाइ बालिकामाथि भइरहेको अपराधका बारेमा, गलत सोच राखेर गोप्य अङ्ग छुने, खानेखुरा दिएर फकाउने लगायतका विषयमा जानकारी गराएकी थिइन् । गर्न नहुने क्रियाकलाप गरेमा विश्वाशिलो व्यक्तिलाइ तुरुन्त जानकारी गराउनु पर्ने समेत ज्ञान दिएकी थिइन् ।
कार्यक्रमको सहजीकरण मञ्चकी सचिव रिता सरावगीले गरेकी थिइन् । कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्कीले समाजमा देखा परेको बिकृति हटाउन विद्यालयका नानीबाबुलाइ नै ज्ञान दिन जरुरी रहेको बताइन् ।
मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्व एवम भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी इन्सपेक्टर सोनिया लिम्बु,भद्रपुर शिक्षा शाखा प्रमुख पबित्रा ढकाल, सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउत,विद्यालयका प्रधानाध्यापक टिकादेवी भट्टराई पोखरेल,मञ्चका सदस्य राधा सरिया,काजल साधु,बन्धना सिङ्घल,विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थी लगायत एकसय भन्दा बढीको सहभागिता रहेको थियो ।