झापा / मनाङको चामे नजिकै पहिरोसँगै आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टेखोलाबाट आएको लेदोसहितको बाढी नदीमा मिसिँदा बहाव प्रभावित भएको हो।
नदी थुनिएपछि मर्स्याङ्दीको पानीको बहाव बढिरहेको र जोखिमसमेत बढेको प्रशासनले जनाएको छ। नदीमा अहिले साइरन बजिरहेको बताइएको छ।
पहिरो जाने क्रम नरोकिएको र नदीको बहाव पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै मर्स्याङ्दी नदी तटीय क्षेत्र, करिडोर तथा आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
लगातारको वर्षाका कारण मनाङमा बाढी र पहिरोको जोखिम बढेको छ। चामे क्षेत्रमा बाढी र पहिरोले सडक तथा अन्य संरचनामा समेत असर पुर्याएको विवरण सार्वजनिक भएका छन्।
नदीमा पानीको बहाव थप बढेमा थुनिएको भाग फुटेर अचानक बाढी आउन सक्ने जोखिम रहने भएकाले नदी आसपासका बासिन्दालाई प्रशासनको सूचनामा ध्यान दिन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।