झापा / विराटनगरमा नेपाली नागरिकको नाममा पसल दर्ता गरी खुद्रा व्यापार सञ्चालन गर्दै आएकी अर्की चिनियाँ महिला पक्राउ परेकी छन् ।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका–२ स्थित एभरपिक सप्लायर्समा सञ्चालन भइरहेको व्यापारमा संलग्न चिनियाँ नागरिक लि जोसिज्याकलाई सोमबार नियन्त्रणमा लिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले पसलमा आकस्मिक अनुगमन गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
अनुगमनका क्रममा नेपाली नागरिक राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको पसलबाट चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार सञ्चालन गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा ‘१६० पसल’ नामले परिचित उक्त व्यापारिक प्रतिष्ठानको सम्पूर्ण व्यावसायिक गतिविधि चिनियाँ नागरिक लि जोसिज्याकले सम्हाल्दै आएको प्रारम्भिक अनुगमनमा खुलेको हो ।
खुद्रा व्यापार सञ्चालन गरेको भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि असोज ८ गते विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलमा ‘योनो मार्ट’ सञ्चालन गर्दै आएका चिनियाँ नागरिक जिङ्सियान सिए पक्राउ परेका थिए ।
नेपाली नागरिकको नाममा पसल दर्ता गरेर चिनियाँ नागरिकले खुद्रा व्यापार सञ्चालन गरेको भेटिएपछि विराटनगरमा विदेशी लगानी, व्यावसायिक भिसा र व्यापारिक कारोबारको वैधानिकतामाथि प्रशासनले निगरानी बढाएको देखिएको छ ।
नेपालको कानुनले खुद्रा व्यापारमा विदेशी लगानीलाई प्रतिबन्ध गरेको छ । पछिल्लो घटनाले नेपाली नागरिकको नाममा दर्ता भएका व्यापारिक प्रतिष्ठानको वास्तविक लगानीकर्ता र सञ्चालनकर्ताबारे थप अनुसन्धानको आवश्यकता देखाएको छ ।